काठमाडौं । लगातार दुई दिनको बृद्धिपछि साताको चौथो कारोबार दिन (बुधबार) सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले घटेको छ । बुधबार २४.९७ अंकले घट्दै नेप्से २७५०.८७ को बिन्दुमा ओर्लिएको छ ।
परिसूचक घटेपनि आज कारोबार रकम भने बढ्यो । २ करोड ३ लाख ३२ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब १३ करोड २४ लाख रुपैयाँ बराबरको भयो । जुन यसअघिको दिनको भन्दा केहीले बढी हो ।
दोहोरो अंकले नेप्से घट्दै गर्दा १३ समूहमध्ये ३ को सूचक बढ्यो भने १०को सूचक घट्यो । व्यापार समूहको सूचक सबैभन्दा धेरै ८.७२ प्रतिशतले घट्यो भने सबैभन्दा कम लगानी समूहको सूचक ०.०२ प्रतिशतले घट्यो । आज हाइड्रो, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको सूचक भने बढेको छ ।
आज कारोबारमा आएका २४४ कम्पनीमध्ये १३२ को मूल्य घट्यो भने १०४ को मूल्य बढ्यो । ८ कम्पनीको भने मूल्य स्थिर रह्यो ।
दोहोरो अंकले नेप्से घट्दै गर्दा दुई कम्पनी सपोर्ट माइक्रो फाइनान्स, लाइफ इन्स्योरेन्स कर्पोरेशनको मूल्यमा नकारात्मक सर्किट लाग्यो भने यसअघि लगातार सकारात्मक सर्किट लागेको विशाल बजारको मूल्य ९.१७ प्रतिशतले घट्यो ।
यद्यपि, समग्रमा नेप्से घटेपनि ५ कम्पनीको मूल्य भने ९ प्रतिशतभन्दा बढीले बढे ।
आज कारोबार रकमका आधारमा जोशी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । जसको ३० करोड ३० लाख बराबरको सेयर किनबेच भएको छ ।
नेप्सेले २८ सयको अवरोधलाई तोड्न केही समयदेखि नै प्रर्यत्न गरिरहेको छ । यद्यपि, जसलाई तोड्ने मनोविज्ञान नबन्दा नेप्सेमा तिव्र उतारचढाव चलिरहेको देखिन्छ ।
विशेषगरी मौद्रिक नीतिको समीक्षामा लगानीकर्ताका माग सम्बोधन नभएसँगै बजारमा उत्साह छाउन सकेको छैन । जसको प्रभाव बजार उच्च अंकले नघटेपनि बढ्न पनि सकिरहेको छैन ।