काठमाडौं । उपराष्ट्रपति भएसँगै माओवादी राजनीतिमा शान्त रहेका नन्दकिशोर पुन ‘पासाङ’ पछिल्लो समय सक्रियता बढाइरहेका छन् । पूर्वउपराष्ट्रपति पुनले देशले प्राप्त गरेको उपलब्धिहरू कसैले उल्ट्याउन खोजे फेरि रातो मान्छे भएर उभिन तयार भएको बताएका छन् ।
बुधबार गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘गणतन्त्रको योद्धा भएको कारणले भोलि कुनै प्रतिक्रियावादीहरूले जाल षड्यन्त्र गरेर यसलाई उल्टाउन चाहन्छन्, प्राप्त उपलब्धिहरूलाई फेरि उल्ट्याउन चाहन्छन् भने, समानुपातिक, समावेशी र संघीयतालाई कतै दायाँबायाँ गराउन चाहन्छन् भने म फेरि रातो मान्छे भएर उभिन तयार छु,’ उनले भने ।
साथै, उनले विगत जे जस्तो भएपनि त्यो भन्दा अर्को उचाइबाट नेतृत्व गर्नसक्ने आँट पलाएर आउने पनि जिकिर गरे ।
‘विगतमा मैले जे जे गरेँ, त्यो भन्दा अर्को उचाइबाट नेतृत्व गर्न सक्छु भन्ने मलाई भित्रैबाट पलाएर आउँछ । त्यो आँट र साहस मसँग छ,’ पुनले भने ।
पछिल्लो समय पार्टी गतिविधिमा सक्रिय हुन थालेका पुन फेरि पार्टीमा भूमिकासहित राजनीतिमा होमिन खोज्दैछन् ।