मन्त्रीको ‘नसुहाउँदो’ हर्कत : मन्त्रालय हुँदाहुँदै प्राधिकरणमा कार्यकक्ष !-Sutra News

मन्त्रीको ‘नसुहाउँदो’ हर्कत : मन्त्रालय हुँदाहुँदै प्राधिकरणमा कार्यकक्ष !

बुधबार, १९ मंसिर २०८१

बुधबार, १९ मंसिर २०८१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का नेपाल विद्युत प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा कार्यकक्ष बनाउँदै छिरेका छन् । प्राधिकरणको ‘कामचलाउ अध्यक्ष’को हैसियतमा रहेका खड्का नयाँ नजिर बनाउँदै प्राधिकरण प्रवेश गरेका हुन् ।



खड्का रातारात कार्यकक्ष बनाउँदै दलबलसहित प्राधिकरण छिर्दा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ भने काठमाडौं उपत्यका बाहिर छन् । दोलखास्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाको पुनर्निर्माणको कार्यको अनुगमन गर्न उपत्यका बाहिर रहेकै बेला खड्का प्राधिकरणमा छिरेका हुन् ।

केही उद्योगी तथा व्यवसायीको बक्यौता उठाउन सुरुदेखि नै अवरोध गर्दै आएका खड्काको यो प्रवेश घिसिङलाई अप्ठ्यारो पार्ने नीतिबाट आएकोमा दुविधा छैन । उनी स्वयंले प्राधिकरणको कार्यकक्षमा दैनिक वा साप्ताहिकरुपमा समय बिताउने र प्राधिकरणको कामकारबाहीमा निगरानी गर्ने योजना सुनाएका छन् ।

जसलाई हेर्दा, केही उद्योगी तथा व्यवसायीको बिल मिलाउने काम खड्काबाट हुने देखिएको छ । साथै, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको निर्णयमा अंकुश लगाउँदै, उनलाई प्राधिकरणबाट गलत्याउनु पनि उनको ध्येय रहेको कुरा कतै लुकेको छैन ।

यसअघि पटक–पटक स्पष्टीकरण सोध्ने, अनेकन बाहानामा ठाडो निर्देशन दिने र प्राधिकरणभित्रको स्वायत्त कामकाजमा अवरोध गर्ने काम खड्काले गर्दै आएका थिए ।

प्रश्नमाथि प्रश्नमा घेरिएका खड्का

उसो त खड्काकै जिम्मेवारीमाथि नै सुरुवातदेखि नै विवाद छ । उनीमाथि अहिले स्काउटको जग्गा हडपेको सन्दर्भबाट नभई मन्त्रालयगतरुपमा स्वार्थ बाझिएको ढंगले प्रश्न उठाइएको छ ।

यद्यपि, आफ्ना पार्टी सभापति शेरबहादुर देउवा र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिजाउन सफल उनी खुलारुपले आफू अनुकुल ऊर्जाको कमाण्ड गर्न पाएका छन् ।

खड्काको लगानीमा रहेको रसुवा भोटेकोशी आयोजना (१२०) मेगावाट निर्माणाधीन अवस्थामा छ । उनकै कम्पनी मेन्छियाम जलविद्युतले पिलुवा खोला आयोजना पनि बनाएको छ ।

खड्का स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का सल्लाहकार समेत हुन् ।

विगत आफ्नो लगानी रहेका कम्पनीको अनुकुल निर्णय दिन संसदीय समिति र नियामक निकायमा दबाब दिने खड्का अहिले समग्र ऊर्जा तथा जलस्रोत क्षेत्र हेर्ने निकयाको नेतृत्वमा छन् ।

खड्काले विगतमा लकइन पिरियड नै नसकिएका आयोजनाको ५० प्रतिशत संस्थापक सेयर बिक्री गर्न विद्युत नियमावली नै फेरबदलको प्रयास गरेका थिए ।

प्राधिकरणभित्र नसुहाउँदो शैलीमा भएको उनको प्रवेशले उनीमाथि मात्रै प्रश्न उठाएको छैन, सिंगो सरकारको नियतमाथि प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट