काठमाडौं । नेपाली कांग्रेसका नेतासमेत रहेका कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुर नगरपालिकामा सम्पन्न उपनिर्वाचनको परिणामले कांग्रेस सुदृढ हुँदै गएको सन्देश प्रवाह गरेको बताएका छन् । आज कीर्तिपुरमा आयोजित सभामा उनले कीर्तिपुरले राजनीतिकरूपमा देशलाई नै सन्देश दिएको जिकिर गरे ।
“राजधानीको कीर्तिपुरजस्तो ठाउँ, जहाँ विश्वविद्यालय छ; राजनीतिकरूपमा सचेत ठाउँ । यहाँबाट कांग्रेसको दिन अब झन सुदृढ हुँदै छ भन्ने सन्देश गएको छ,” उनले भने, “नगर प्रमुख र दुई वडाध्यक्षको नतिजाले कांग्रेस अहिले पनि जनताको हृदय र मनमा रहेछ भन्ने कुरा देखाएको छ ।”
कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले कीर्तिपुरमा मेयरका लागि ११ जना रहे पनि पार्टीले उमेदवारको निर्णय गरेपछि सबै एक भएर लाग्दा परिणाम पार्टीको पक्षमा आएको बताए ।
त्यस्तै, उनले पार्टीमा संगठन गर्नेहरूले मौका पाइएन भनेर गुनासो गर्ने गरेको चर्चा गर्दै पार्टीमा धैर्यता गरे दिन आउने र त्यसको उदाहरण नगर प्रमुख कृष्णमान डंगोल भएको बताए ।
“संगठन गर्दाखेरि धैर्यता पनि राख्नुपर्ने रहेछ, पार्टीको संगठनमा लागिरहनुपर्छ । धैर्यता राखेपछि मौका आउँछ,” उनले भने ।
सिंहले कीर्तिपुरका नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक मुद्दालाई सम्बोधन गर्ने गरी काम गर्न सुझाव पनि दिए ।