काठमाडौँ । नेकपा माओवादी केन्द्रले एक्लै चुनाव लड्ने निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पार्टी पदाधिकारी बैठकमा उपचुनावको समीक्षा गर्दै यस्तो निष्कर्ष निकालेको हो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले कीर्तिपुरको हारेमा पनि पार्टी कार्यकर्ता उत्साहित भएको बताएका थिए । आगामी जित चुनावमा जितका लागि उपचुनावले थप आधार दिएको उनको भनाइ थियो ।
प्रवक्ता सापकोटाले अब पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने बताए । उपचुनावको समीक्षा गर्दै अब २०८४ का लागि माओवादीले सबै तयारी गर्ने उनको भनाइ थियो ।
‘अबको सबै तयारी भनेको २०८४ को चुनाव जित्नका लागि हो, अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको सुशासनको अभियानलाई जनतासम्म लैजान्छौँ,’ उनले भने, ‘हामी केही समय अलमलिए पनि अब जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो लागेको छ ।’
उनले अबको निर्वाचनमा माओवादीले चुनावको एजेण्डामा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन र सांसदहरू मन्त्री नबन्ने राख्ने बताए ।