काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले विद्युत प्राधिकरणभित्र कार्यकक्ष खोलेर ‘अस्वभाविक हर्कत’ देखाएका ऊर्जामन्त्री दीपक खड्काको कदमप्रति आपत्ति जनाएको छ । बिहीबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले आपत्ति जनाएको हो ।
माओवादी केन्द्रले मन्त्रीले कदम बिचौलिया र भ्रष्टाचारी जोगाउन आएको निष्कर्ष निकालेको छ । यस्तो कदमको विरुद्ध माओवादी केन्द्रले खबरदारी सभा गर्ने निर्णय पनि गरेको छ ।
“मन्त्रीको यस्तो हर्कतले प्राधिकरणको काममा अवरोध गरेको छ, बिचौलिया र भ्रष्टाचार जोगाउने काम गरेको छ”, बैठकपछि पार्टी प्रवक्ता अग्नि सापकोटाले भने, “यसका विरुद्ध व्यवस्थित खबरदारी सभा गर्नेछौं ।”
माओवादीले केन्द्र बिचौलियाको पक्षमा निर्णयहरु गर्दै सरकार भ्रष्टाचारलाई संस्थागत गर्न लागिरहेको निष्कर्ष निकालेको छ । सरकारका प्रत्येक भ्रष्टाचारसँग जोडिएका कदमको विरुद्ध उभिने पनि निर्णय गरेको सापकोटाले बताए ।