काठमाडौं । धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङले पत्रकार सम्मेलन गरी आफू विरुद्ध आएको समाचारको खण्डन गरेका छन् । साम्पाङले आफूविरद्ध पूर्वाग्रह साँधेर कुप्रचार गरिएको आरोप लगाए ।
बिहीबार पत्रकार सम्मेलन गर्दै उनले उनले भने, “मैंले लामो समय शिक्षण पेसा गरेको छु, मेरो भाषा तथा कम्प्युटर सेन्टर थियो, म बिहानदेखि नै त्यो सेन्टरमा व्यस्त हुन्थे, चर्चामा आएका सम्पूर्ण राई र इन्द्र राई मेरा साथी हुन्, उहाँहरूले मसँग बाइक मागेर लैजानुहुन्थ्यो, बिहान लगेको बाइक बेलुका आउँथ्यो, तत्कालीन समय त्यही बाइकको कारण माओवादीहरूले सम्पूर्ण राई मानेर ममाथि दुर्व्यवहार गरे । चन्दा उठाएको आरोप लगाए । त्यो झुटो कुरा अहिले प्रचार गरियो ।”
आफूमाथि तत्कालीन समय माओवादीबाट गरिएको दुर्व्यवहारकाे न्याय अहिलेसम्म नपाएको उनको गुनासो छ । तत्कालीन समय माओवादीको प्रभावको कारण आफूहरु अन्यायमा बस्न बाध्य भएको उनले सुनाए ।
“हर्क साम्पाङले चन्दा उठायो भनियो, म त्यस्तो खानै नपाउने व्यक्ति होइन, मेरो परिवार लाहुरे परिवारको हो, मलाई खान लाउनकै निम्ति समस्या छैन”, समाचार लेख्नेमाथि चुनौती दिँदै राईले भनेका छन्, “मेरो विरुद्ध नियोजित कुप्रचार भयो, जसले कुप्रचार ग¥यो उनीहरूको दैनिकीमाथि छानबिन हुनुपर्छ ।”
उनले आफूमाथिको आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।
“नक्कली माओवादी भएर चन्दा उठायो भनेर आरोप लगाइएको छ, कुनै पनि कुरा उठान गरेपछि त्यसको जबाफदेहिता लिन सक्नुपर्छ”, साम्पाङले भनेका छन् ।
साम्पाङले आफ्ना विरुद्ध लाग्नेहरू धरान विरोधी, विकास विरोधी भएको आरोप लगाए । “म भ्रष्टाचार विरोधी, विकासको पक्षमा लाग्ने अभियन्ता हुँ”, साम्पाङले भनेका छन्, “हर्क साम्पाङ विरुद्ध लाग्नेहरू धरान विरोधी हुन्, विकास विरोधी हुन्, उनीहरूमाथि छानबिन हुनुपर्छ ।”
हालै एक सञ्चार माध्यममार्फत मेयर साम्पाङको विषयमा समाचार बाहिर आएको थियो । जसमा साम्पाङको विगतबारे मात्रै लेखिएको छैन, वर्तमान समयमा धरान बेथितिको दलदलमा फसेको बताइएको छ ।
जुन समाचार सार्वजनिक भएपछि साम्पाङ निकै आक्रोशित छन् । उनले सामाजिक सञ्जालमार्फत नै समाचार लेख्ने पत्रकारविरुद्ध आगो पोखिरहेका छन् । सोही सिलसिलाकै रूपमा उनले पत्रकार सम्मेलन गरेका हुन् ।