काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) पनि सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । बिहीबार १५.९३ अंकले घट्दै नेप्से २७३४.९३ को बिन्दुमा ओर्लिएको छ ।
दोहोरो अंकले नेप्से घट्दै गर्दा जीवन बिमा र व्यापार बाहेक सबै समूहको सूचकक घट्यो । सबैभन्दा बढी होटल तथा पर्यटनको सूचक ३.६३ प्रतिशतले घट्दा सबैभन्दा कम निर्जिवन बीमा समूहको सूचक ०.१९ प्रतिशतले घट्यो । व्यापारको सूचक ३.६७ प्रतिशतले बढ्दा जीवन बिमाको सूचक ०.७९ प्रतिशतले बढ्यो ।
आज कारोबारमा आएका २४४ कम्पनीमध्ये २०१ को मूल्य घट्यो भने ४० को मूल्य बढ्यो । ३ कम्पनीको भने मूल्य स्थिर रह्यो ।
नेप्से घट्दै गर्दा कारोबार रकम पनि सुस्ताएको छ । अघिल्लो कारोबार दिनको तुलनामा एक अर्ब कम १ करोड ६७ लाख ९७ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँको भयो ।
आज कारोबार रकमका आधारमा नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभपलपमेन्ट, लाइफ इन्स्योरेन्स कर्पोरेशनलगायत शीर्ष स्थानमा रहे । नेपाल फाइनान्सको मात्रै ४२ करोड १९ लाख बराबरको सेयर कारोबार भएको छ ।
झन्डै तीन महिनादेखि साइडवेजमा चलिरहेको मार्केटमा कारोबार बढ्न सकेको छ न त सूचक । जसले आमरुपमा लगानीकर्ताहरु निराश बन्दै गएका छन् । बिहीबारको कारोबारले लगानीकर्तालाई थप निराश बनाएको छ ।