काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजविरूद्ध सुदूरपश्चिम रोयल्सले १६८ रनको लक्ष्य दिएको छ । टस जितेको काठमाडौंले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि स्कटिस ब्याटर ब्रान्डन मक्मलेनले अर्धशतक प्रहार गरे।
उनले ३ चौका र ४ छक्कासहित ३६ बलमा ५३ रन जोडे । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले जोडेको ४३ रन पनि महत्वपूर्ण सावित भयो। १९औं ओभरमा काठमाडौंका करण केसीको बलमा क्याच हुनुअघि दीपेन्द्रले २५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। ओपनिङमा आएका सइफ जबइले ११ रन मात्र जोड्न सके।
उनी दोस्रो ओभरको अन्तिम बलमा काठमाडौंका रसिद खानबाट बोल्ड भएका थिए। अर्का ओपनिङ ब्याटर विनोद भण्डारीले भने २८ बलमा ३५ रन बनाए। शाहब आलमको एलबिडब्लूको धरापमा पर्नुअघि उनले २ चौका र २ छक्का प्रहार गरेका थिए। भण्डारी र ब्रान्डनबीच दोस्रो विकेटका लागि ८६ रनको साझेदारी हुँदा सुदूरपश्चिमको रनले गति लियो। रोहन मुस्ताफ भने ४ रनमा रसिद खानबाट बोल्ड भए। आरिफ शेख भने रनआउट भए।
दीपेन्द्रसिंह ऐरीसँग समन्वय मिल्न नसक्दा उनी ३ रनमा आउट हुन पुगेका थिए। स्कट कुगेलेइनले नटआउट ७ रन जोडे। ११ ओभरमा ९९ रन जोडेको सुदूरपश्चिमले बाँकी ९ ओभरमा ६८ रन मात्र जोड्न सक्यो।