काठमाडौं । कोसी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई मानव तस्करी मुद्दामा पुनः पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको रिट सर्वोच्च अदालतको इजलासको आदेशमा दर्ता गरिएको छ।
यसअघि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरिएको रिट इजलासको आदेशमा दर्ता गरिएको निवेक वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले जानकारी दिए। उनका अनुसार उक्त रिटको प्रारम्भिक सुनुवाइ मंसिर २३ गते हुने भएको छ।
काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले जापानमा मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री अधिकारीविरुद्ध मंसिर १० गते मुद्दा नचलाउने निर्णय गरेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँले अधिकारीलाई समेत प्रतिवादी बनाउन राय दिएको भए पनि सरकारी वकिल कार्यालयले उनको संलग्नता नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो। लगत्तै अधिकारी रिहा भएका थिए। उनीसँग पक्राउ परेका अन्य ११ जनाविरूद्ध भने मुद्दा चलाइएको छ।
सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले फौजदारी मुद्दा चल्ने वा नचल्ने विषयमा अन्तिम निर्णय गर्ने अधिकार सरकारी वकिलसँग सुरक्षित रहेकोले त्यसविरूद्ध रिट दर्ता गर्न नमिल्ने भनी मंसिर १६ गते लिखित आदेश गरेका थिए।