काठमाडाैं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई जिल्ला प्रहरी कार्यालय कास्की हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् । भट्टराई शुक्रवार बिहान लामिछानेलाई भेट्न कास्की प्रहरीको हिरासतमा पुगेका हुन् ।
भट्टराईले भेटेकाे विषयलाई रास्वपा नेता दीपक बोहराले पुष्टि गरे ।
सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक २ काठमाडौंबाट पक्राउ परेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई विभिन्न सहकारीको बचत अपचलको आरोपमा छानबिनका लागि बयान गराउन भन्दै रुपन्देही, काठमाडौं र चितवन लगिएको थियो।
लामिछानेलाई बुधबार मध्यरातमा चितवनबाट कास्की ल्याइएको थियाे ।
हिरासतमा रहेका लामिछानेको अवस्थाबारे जानकारी लिन भट्टराई कास्की पुगेको बताइएको छ । यद्दपि, भट्टराईले भेटेकाे विषयमा कुनै प्रतिक्रया दिएका छैनन् । उनले लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधिएकाे टिप्पणी गर्दै आएका छन् ।