काठमाडौं । यसै साता सम्पन्न स्थानीय तहको उपनिर्वाचनको नतिजापछि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) उत्साहित देखिएको छ । बिहीबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा उपनिर्वाचनबारे समीक्षा भएको थियो । बैठकले स्थानीय तहको निर्वाचनले पार्टीलाई पुनर्जीवन दिएको निष्कर्ष निकालेको छ ।
उक्त बैठकमा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकबाट जनपरिचालन गर्नेबारे विस्तृतमा कार्यक्रम ल्याउने सन्दर्भमा पनि छलफल गरेको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार निर्वाचनको नतिजा उत्साहजनक भएकाले आगामी निर्वाचनलाई लक्षित गरी जनपरिचालनमा जुट्ने निर्णय गरिएको हो ।
गत १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा माओवादी केन्द्रले रुकुम पूर्वको पुथाउत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिकामा विरासत जोगाउन सफल भएको थियो । यसबाहेक एक अध्यक्ष, एक उपप्रमुखसहित दुई गाउँपालिकाको उपाध्यक्ष पद आफ्नो पक्षमा ल्याउँदा सात वटा वडाध्यक्षमा जित निकाल्न सफल भएको थियो ।
यसैगरी, उपनिर्वाचनमा काठमाडौंको कीर्तिपुर नगरपालिकासहित १२ ठाउँमा विजयी उम्मेदवारसँग कडा प्रतिस्पर्धा भएको थियो । यस उपनिर्वाचनमा माओवादी दोस्रो दलको रूपमा स्थापित हुँदा नेपाली कांग्रेस पहिलो र एमाले तेस्रो बनेको थियो ।
स्थानीय तहको उपनिर्वाचनबारे माओवादीको बैठकमा चर्चा भइरहँदा आगामी निर्वाचनमा एक्लै लड्ने गरी नेताहरूबिच सहमति पनि बनेको छ । यसबारे पार्टी अध्यक्ष प्रचण्डले पार्टीको एजेन्डालाई प्राथमिकता दिँदै एक्लै चुनावमा जाने बताउँदै आएका थिए ।
‘स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ, जितेका सिट संख्या र लोकप्रिय जनमत दुवै हिसाबले प्राप्त परिणामलाई उत्साहजनक भएको निष्कर्ष निकालिएको छ,’ पार्टी प्रवक्ता सापकोटाले भनेका छन्, ‘आगामी निर्वाचनमा आफ्नै एजेन्डा र पहिचानसहित एक्लै निर्वाचन लड्ने आधार तयार गरेको छ भन्ने निष्कर्ष निकालेका छौँ ।’
‘मिसन ०८४’ मा होमिँदै
प्रतिनिधिसभाको दुई ठुला दलहरू कांग्रेस र एमाले मिलेर सत्ता सञ्चालन गरेसँगै प्रतिपक्षको भूमिकामा पुगेको माओवादीले केन्द्रीय राजधानी केन्द्रित गरी खबरदारी सभा सम्पन्न गरेको थियो । बागमती प्रदेश कमिटीले गरेको खबरदारी सभाबाट माओवादी निकै उत्साहित देखिएको थियो ।
त्यसपछि मंसिर १२ गते बसेको माओवादी पदाधिकारी बैठकले सबै पालिकामा खबरदारी सम्मेलन गर्न कार्यविधि बनाएर पठाएको थियो । यसबारे चुनावी समीक्षाको बैठकमा छलफल भएको पार्टी प्रवक्ता सापकोटाले बताए ।
उपनिर्वाचनले हौसिएको माओवादीले सबै पालिकामा केन्द्रीय स्तरको नेता उपस्थित भई खबरदारी सभा गर्ने तयारी गरेको हो । आगामी निर्वाचनमा एक्लै चुनाव जित्न सक्ने आधार भएको बताउँदै प्रवक्ता सापकोटाले अब ‘मिसन २०८४’को अभियान सुरु गर्ने बताए ।
‘खबरदारी सभाबारे स्थायी समिति र केन्द्रीय समिति बैठकमा छलफल गरी कार्यक्रम बनाउँछौँ, मिसन २०८४ मा होमिने छौँ,’ उनले भने, ‘मेहेनतसाथ तयारीमा लाग्छौँ, स्थानीय तहको चुनावी परिणामले आधार दिएको छ, बिचमा हामी अलमलिएका हौँ, केही बरालिएका हौँ ।’
उठ्ने प्रयासमा माओवादी
खुला राजनीतिमा आएको करिब दुई दशकसम्म माओवादी केन्द्र करिब सत्तामा केन्द्रित भयो । पार्टी सत्तामा केन्द्रित हुँदै जाँदा चुनावमा खुम्चिँदै गयो ।
पहिलो संविधान सभाको निर्वाचनमा २०६४ मा २२० सिट प्राप्त गरेको माओवादीले वि.सं. २०७९ को प्रतिनिधिसभा चुनावसम्म आइपुग्दा जम्मा ३२ सिटमा सीमित छ । यसै चुनावअघि पार्टी स्थापना गरी होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग २१ सिट जित्दै संसद्को चौथो ठूलो शक्ति बन्यो ।
माओवादी हरेक चुनावमा कांग्रेस वा एमालेसँग मिल्दै जाँदा आफ्नो शक्ति खुम्चाउँदै गएको देखिन्छ । यसैबिच गत असारमा दुई ठुला दल मिलेर सरकार बनाएपछि माओवादी बाध्यताले प्रतिपक्षीको भूमिकामा पुगेको हो । दुई ठुला दलहरू मिलेर सत्ता चलाउँदै गर्दा बाध्यताले नै माओवादी एक्लै स्थानीय तहको उपनिर्वाचनमा होमिएको हो ।
तर, माओवादीले ११ स्थानमा जित हात पर्न सफल भएको हो । योसँगै १२ स्थानमा कांग्रेससँग प्रतिस्पर्धा भएको छ । यो पटक निर्वाचन आयोगले ४४ पदका लागि उपनिर्वाचन सम्पन्न गरेको थियो ।