काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का नवनिर्वाचित वडाध्यक्ष धिरेन्द्र कुमार साहमाथि बलात्कारसहित तीन वटा कसुरको आरोपमा अनुसन्धान हुने भएको छ।
मंसिर १६ गतेको उपनिर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका साहलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो। इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले मधुवनी टोलबाट पक्राउ गरेर उनीमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरक्षिक मनिष श्रेष्ठले जानकारी दिए।
वडाध्यक्ष साहसहितका व्यक्तिले डाक्नेश्वरी नगरपालिका १ माधोपुरमा २०७८ चैत २२ गते एक महिलालाई सामुहिक बलात्कारपछि हत्या गरेको आरोप छ। सुरुमा प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि पीडितले हुलाक मार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए।
मंसिर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनमा साह जसपा नेपालबाट वडा अध्यक्षमा ६ सय ५२ मतसहित निर्वाचित भएका थिए ।