परराष्ट्रमन्त्री राणा शनिवार नेदरल्यान्ड्स जाँदै-Sutra News

परराष्ट्रमन्त्री राणा शनिवार नेदरल्यान्ड्स जाँदै

शुक्रबार, २१ मंसिर २०८१

शुक्रबार, २१ मंसिर २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले युरोपेली राष्ट्र नेदरल्यान्ड्स र जर्मनीको भ्रमण गर्ने भएकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी शनिवार त्यसतर्फ प्रस्थान गर्नेछिन् ।



परराष्ट्रमन्त्री राणाले पहिला नेदरल्यान्ड्स र त्यसपछि जर्मनीको भ्रमण गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

नेदरल्यान्ड्समा उनी इन्टरनेसनल कोर्ट अफ जस्टीस (आईसीजे)मा उपस्थित भई जलवायु परिवर्तनका सम्बन्धमा नेपालको अडान राख्नेछिन् । सोमबार उनी आईसीजेमा उपस्थित भई नेपालको अडान राख्नेछिन् ।

जलवायु परिवर्तनको सम्बन्धमा नेदरल्यान्ड्सको हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतमा डिसेम्बर २ देखि १२ सम्म सार्वजनिक सुनुवाइ चलिरहेको छ । परराष्ट्रमन्त्री राणा यसैमा सहभागी हुन नेदरल्यान्ड्स जान लागेकी हुन् ।

आईसीजेमा हुने सुनुवाइमा सहभागी भएपछि परराष्ट्रमन्त्री राणा जर्मनी जाने कार्यक्रम छ । समान अधिकारसम्बन्धी एक कार्यक्रममा सहभागी हुन उनी जर्मनी जान लागेकी हुन् । कार्यक्रम डिसेम्बर १७ देखि १८ सम्म बर्लिनमा हुनेछ ।

जर्मनीका विदेशमन्त्रीको निमन्त्रणामा उनी उक्त कार्यक्रममा सहभागी हुन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

“युरोपमा रहँदा उहाँले बेल्जियम, लक्जेम्बर्ग, जर्मनी र युरोपियन युनियन लगायतका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ,” परराष्ट्रले विज्ञप्तिमा भनेको छ । परराष्ट्रमन्त्री राणाको पुस ५ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट