काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले भेटेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेर आयोगको पोखरा क्षेत्रीय कार्यालयकी निर्देशक नीतु गड्तौला सहितको टोलीले लामिछानेसँग भेटेको हो ।
आयोग प्रतिनिधिसँगको भेटमा रविले आफूलाई अमानवीयरुपमा मध्यरातमा उठाएर चितवनबाट कास्की ल्याइएको गुनासो पोखे । यस विषयमा आयोगले छानबिन गर्नुपर्ने माग पनि उनले राखेका छन् ।
मानवअधिकार आयोगका प्रतिनिधिसँग रविको भनाइ थियो, ‘मलाई सान्त्वना चाहिएको होइन, घटनाको छानबिन हुनुपर्छ । मलाई चितवनबाट कास्की ल्याउने क्रममा जुन हर्कत गरियो, त्यसको सत्यतथ्य आयोगले छानबिन गराओस् ।’
रविले आफ्नो स्वास्थ्य स्थिति ठिक नरहेको बताउँदा बताउँदै मध्यरातमा जबरजस्ति उठाइएको बताए । आफूलाई उठाउन आएका प्रहरीमध्ये एक जनाले मादक पदार्थ सेवन गरेको उनको दाबी थियो ।
‘पहिले मेरो स्वास्थ्य स्वास्थ्य परीक्षण गराइयोस्, यदि स्वस्थ ठहर भएमा अहिल्यै जान पनि मलाई आपत्ति छैन भनेर याचना गर्दा पनि प्रहरीले मानेनन्’, रविको भनाइ उद्वृत गर्दै रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराले भने । चितवनबाट कास्की ल्याएपछि ब्लडप्रेसर जाँच गर्दा १८०÷९० पाइएको उनको भनाइ छ ।
आयोगकी निर्देशक गड्तौलाले लामिछानेको अवस्था बुझ्नका लागि हिरासतमा आएर भेटेको बताइन् ।
उनले भनिन्, ‘हामी अनुगमनका लागि आएका हौं । सबै सूचनाहरु संकलन गरेका छौं । यसै आधारमा अब केन्द्रीय कार्यालयमा रिपोर्टिङ गर्ने छु ।’