काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘पुष्पा–२ : द रुल’ नेपालमा हालसम्मकै सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने चलचित्र बनेको छ । यो संगै नेपालमा पनि नयाँ रेकर्ड बनाएको छ ।
बिहीबारबाट रिलिज भएको यो चलचित्रले नेपालमा पहिलो दिन चार करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ । “पहिलो दिनको कलेक्सन चार करोडभन्दा माथि रहेको छ,” पुष्पा–२ वितरक स्रोतले भन्यो, “अहिलेसम्मको ग्रसकलेक्सनको सबै रेकर्ड तोडेको छ ।”
हलले थ्रि–डी टिकटको पैसा फिर्ता गर्नु परेकाले वितरक आइतबार मात्रै औपचारिक रूपमा कलेक्सन रिपोर्ट सार्वजनिक गर्ने तयारीमा छन् ।
‘पूर्ण बहादुरको सारङ्गी’ले एकै दिन गरेको तीन करोड ८९ लाख ग्रसकलेक्सन गरेको थियो । ‘पुष्पा–२’ले यो रेकर्ड तोडेको स्रोतको दाबी छ ।
‘पुष्पा–२’ले पहिलो दिन देशभर ५०७ शो पाएको थियो । यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’ले देशभरका ८१ वटा हलमा ३८९ शो पाएको थियो ।
‘पुष्पा–२’ले भारतमा रेकर्ड ब्रेकिङ कलेक्सन गरेको छ । भारतमा हिन्दी डबमा मात्रै ‘पुष्पा–२’ले ७२ करोड ग्रसकलेक्सन गरेको छ । यो भारतमा अहिलेसम्मकै धेरै ओपनिङ कलेक्सन हो ।
चलचित्र ‘पुष्पा–२’मा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना मुख्य भूमिकामा छन् । चलचित्रलाई सुकुमार बान्द्रेडीको निर्देशन गरेका छन् । चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।