रास्वपा राजनीतिक रुपमा पतनको बाटोमा छ- पूर्ण बस्नेत-Sutra News

रास्वपा राजनीतिक रुपमा पतनको बाटोमा छ- पूर्ण बस्नेत

शनिबार, २२ मंसिर २०८१

शनिबार, २२ मंसिर २०८१

काठमाडौैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिक रुपमा पतनको बाटोमा रहेको बताएका छन् । सहकारी संस्थाको रकम दुरुपयोग अभियोगमा पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि सो पार्टीका नेता र कार्यकर्ताहरुको गतिविधिप्रति लक्षीत गर्दै उनले उक्त टिप्पणी गरेका हुन् ।



बस्नेतले भने, ‘सहकारी रकम अपचलन गरेको भन्दै अहिलेसम्म पाँचवटा जिल्ला अदालतले रविलाई पक्राउ पुर्जी जारी गरिसकेको अवस्था छ । पार्टीका सांसद र नेतालाई अदालतको मानहानीको मुद्दा लागेको छ । यस्तो अवस्थामा आत्मसमीक्षा, आत्मालोचना र स्विकारोक्तिबाट अगाडि बढ्नुको सट्टा रवि छोडो आन्दोलनको नाममा यिनीहरुको रमिता छ ।’ कार्यकर्ताहरुको उक्साहट र हौसला यस्तो छ कि मानौ रास्वपाले देशमा ठूलो राजनीतिक परिवर्तनको नेतृत्व गर्दैछ, उनले कटाक्ष गरेका छन् । रास्वपाको राजनीतिक स्खलनको सुरुवात यहींबाट हुन लागेको देखिन्छ, स्खलनको गति तीव्र छ, उनले भने ।

करिब ७४ लाख सहकारी बचतकर्ताको लगभग २ खरब रकम हिनामिना भएको भन्दै एउटा राजनीतिक दलको रुपमा पीडितहरुको पक्षमा बहस, पैरवी गर्नुपर्नेमा पीडककै पक्षपोषण र संरक्षणमा उत्रिने रास्वपाको हर्कत राजनीतिक हुनै नसक्ने उनको ठम्याइ छ ।

सहकारी बचतकर्ताहरुको उठीबास लगाउने पीडकको जात, धर्म वा पार्टी नहुने भन्दै यस विषयमा निष्पक्ष रुपमा छानबिन गरी दोषीमाथि कडा कारबाही र पीडितलाई शीघ्र न्याय दिनुपर्ने उनको माग रहेको छ ।

काङ्ग्रेस कम्युनिष्टको विकल्प मुलुकलाई चाहिएको छ तर काङ्ग्रेस कम्युनिष्टभन्दा हामी कम खराब हौं भनि घोषणा र दाबी गर्नेहरुबाट होइन । प्रमुख बस्नेतले भने, ‘अबको राजनीतिको नेतृत्व समाजवादी विचार र दृष्टिकोणले गर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट