काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेस र नेकपा एमालेको वर्तमान गठबन्धन सरकारले राम्रो काम गरिरहेको दाबी गरेका छन् ।
विराटनगरमा कांग्रेस कोशीको प्रथम प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले राजनैतिक स्थायित्व र सरकारको स्थिरताका लागि वर्तमान गठबन्धन बनाइएको बताए । यस्तै, उनले यो सरकार २०८४ सम्म निरन्तरता हुने बताएका थिए ।
उनले नेपालले कुनै पनि मुलुकसँग ऋण लिन नहुने जिकीर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा कुनै ऋण सम्झौता नगरेको भन्दै धन्यवाद दिए ।
कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले संविधान संशोधनको प्रक्रिया शुरु भइसकेको भन्दै भ्रम छर्ने कार्य नगर्न आग्रह गरे । सरकारले विधिको शासन कायम गर्न लाग्नु पर्ने बताउँदै अपराध र भ्रष्टाचार गर्नेलाई कारवाहीको दायरामा ल्याउने उनको भनाइ थियो ।