काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका ३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित १८ तले भवनको उद्घाटन गर्ने भएका छन् ।
‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् ।
सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए । यसैबीच, प्रधानमन्त्री ओलीले मेचीनगर ४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।