काठमाडौं आईपुगे अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु-Sutra News

काठमाडौं आईपुगे अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु

आइतबार, २३ मंसिर २०८१

आइतबार, २३ मंसिर २०८१

काठमाडौं । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आएका छन् । दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री लु भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने क्रममा आज काठमाडौँ आएका हुन् ।



काठमाडौँमा रहँदा नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने नेपालस्थित अमेरिकी राजदूतवासले जनाएको छ । उनको यो भ्रमणले अमेरिका-नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने दूतावासको भनाइ छ ।

लु अमेरिकी विदेश मन्त्रालयका प्रभावशाली सहायक मन्त्री मध्येका हुन् । उनले यसअघि पनि तीन पटक नेपालको भ्रमण गरिसकेका छन् । पछिल्लो पटक उनी गत वर्ष असार २९ गते पनि नेपाल आएका थिए ।

त्यसअघि उनी नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारितको चरणमा रहेको अवस्थामा अमेरिकाबाट तारन्तार भएका भ्रमणको क्रममा नेपाल आएका थिए ।

त्यसपछि अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुने विषयमा संवाद गर्न पनि नेपाल आइपुगेका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपी प्रस्तावलाई अस्वीकार गर्ने निर्णय मन्त्रिपरिषदबाटै पारित गरेपछि उनी त्यसको केही समयपछि नै नेपाल आइपुगेका थिए ।

एमसीसी पारित हुने विषयमा नेपालमा चर्को बहस भइरहेको अवस्थामा सोही वर्षको २७ माघमा एकै दिन लुले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोन संवादसमेत गरेका थिए ।

संवाद भएको करिब दुई हप्तापछि १५ फागुन २०७८ मा नेपालको संसदले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट