मतभेदमाथि खेल्दै देउवा, वारपारको लडाइँमा शेखर-Sutra News

मतभेदमाथि खेल्दै देउवा, वारपारको लडाइँमा शेखर

आइतबार, २३ मंसिर २०८१

आइतबार, २३ मंसिर २०८१

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद निकै पेचिलो बन्दै छ । शनिबारदेखि सुरु भएको पार्टीको कोशी प्रदेश सम्मेलनमा नेताहरुको सहभागिताबाट नै विवादको तह स्पष्ट हुन्छ ।



सिंगो पार्टी पंक्ति प्रदेश सम्मेलनमा जुट्दा इतर समूह अघोषितरुपमा बहिस्कारमा जुट्यो । विराटनगरमै भएको सम्मेलनमा इतर समूहका नेता डा. शेखर कोइराला अनेक बाहानामा उपस्थित भएनन् भने महामन्त्री विश्वप्रकाश शर्मा सम्मेलनलाई छल्न खुम्बु ट्रेकिङमा निस्किए ।

सँगै कोइराला पक्षका डा. सुनिल शर्मा, नेता राजीव कोइराला, गुरु घिमिरेलगायत पनि कार्यक्रममा सहभागि भएनन् ।

डा. कोइराला समूहले हालै मंसिर १८ र १९ मा प्रदेशमा बेग्लै भेला आयोजना गरेको थियो । समूहले प्रदेशभित्रका पालिका र जिल्ला सभापतिहरुको भेला गरेको थियो । जुन भेलालाई लिएर पार्टी केन्द्रले अवैधानिक भनेर विरोध गर्दा कोइराला समूहले भने देशव्यापी भेलाको तयारी गरिरहेको छ ।

यस्तोमा पार्टी केन्द्रले आयोजना गरेको सम्मेलनलाई इतर समूहले अघोषितरुपमा बहिस्कार ग¥यो । जसले कांग्रेसभित्रको विवाद, पुनः वारपारको तहमा पुग्न खोजेको संकेत गरेको छ ।

विशेषगरी हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको नतिजासँगै कांग्रेसभित्रको विवाद चरमतातर्फ उन्मुख छ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको परिणामपछि संस्थापन र इतर समूह एकअर्काविरुद्ध खुलेर लागेका छन् ।

इतर समूहभित्रै विभाजन

यद्यपि, डा. शेखर कोइराला निर्णायक शैलीमा संस्थापनविरुद्ध उभिँदा उनी नेतृत्वको इतर समूह भने विभाजित बनेको छ । इतर समूह निकट मानिने महामन्त्री डा. गगन थापा कोइरालाको पक्षमा देखिएका छैनन् । विराटनगरको सम्मेलनमा सहभागि थापाले कोइराला कदमको विरोध गरेका छन् ।

“पार्टीभित्र एकता अनिवार्य छ । सबैको राजनीतिक हिसाबले मिलाउनु पर्छ । अहिलेको सन्दर्भ ठिक भएन भन्ने लागेको हो, भोली विराटनगरको एउटा वडाले सबै वडाध्यक्ष बोलाएर गर्छु भन्यो भने महानगरले के गर्छ ?”, कोइरालामाथि नै प्रश्न उठाउँदै थापाले भने, “त्यो भेला गर्ने कि नगर्ने ? त्यस कारण सबै मिलेर सम्हालिएर अगाडि बढौँ ।”
उक्त भेलामा केही इतर समूहका नेताहरु पनि सहभागि थिए ।

संस्थापनको विरोधमै उभिने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सम्मेलनलाई सम्बोधनका क्रममा कोइरालाको व्यवहार सही नभएको भन्दै विरोध गरेका थिए । उनले कोइरालाबाट अस्वभाविक शैली प्रदर्शन भइरहेको बताएका थिए ।

“मेरा साथी शेखरजीले यहीँ बसेर कुरा गर्नुभएको भए हुन्थ्यो, केन्द्रीय समितिमा राखे पनि हुन्थ्यो, अब यही विषयलाई दिएर धेरै उतारचढाव गर्न हुँदैन”, सिटौलाले भनेका छन् ।

मतभेदमाथि खेल्दै देउवा

कोशी सम्मेलनका लागि विराटनगर पुगेका पार्टी सभापति देउवा सबैभन्दा पहिला विराटनगरस्थित नेता डा. शेखरको निवास पुगेका थिए । उनी नेता डा. शशांक कोइरालालाई लिएर शेखरलाई भेट्न पुगेका थिए ।

यद्यपि, देउवा पुग्दा स्वयम् कोइराला भने निवासमा थिएनन् । देउवालाई शेखर पत्नी पुनम कोइरालाले स्वागत गरेकी थिइन् । शेखर बिना नै देउवा र शशांक चिया पिएर फर्किए ।

शेखर निवासमा शंशाकलाई लिएर देउवा जानु निकै अर्थपूर्ण छ । शेखर निवास कोइराला परिवार र कांग्रेसको विरासतसँग जोडिएको घर हो । जहाँ देउवा स्वयम् पुगेका थिए ।

शेखरको निवासमा पुगेर देउवाले इतर समूहलाई आफू संवाद गर्न चाहेको भन्ने सन्देश दिएका छन् भने अर्कोतिर स्वयम् कोइराला परिवारलाई पनि विभाजित बनाइदिएका छन् । इतर समूहको खास महत्व नरहेको पनि सन्देश देउवाले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट