काठमाडौँ । नेपालमा ‘रेकर्ड ब्रेक’ कलेक्सन गरिसकेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन नरोकिने भएको छ ।
दक्षिण भारतीय चलचित्र ‘पुष्पा २’ रिलिज भएपछि अधिकांश हलले ‘पूर्ण बहादुरको सारङ्गी’लाई कम शो दिएको भन्दै निर्माण पक्षले विज्ञप्ति जारी गर्दै सोमबारदेखि देशभरका हलबाट चलचित्र उतार्ने निर्णय गरेको थियो ।
यसैबीच सेभेन सिस सिनेमाले ‘पूर्ण बहादुरको सारङ्गगी’को प्रदर्शन बन्द नगर्ने निर्णय गरेको छ । वितरण कम्पनी टी फोक र ब्याङ्कटेस इन्टरटेनमेन्टले प्रदर्शनलाई नियमित गर्न हललाई इमेल लेखेका छन् ।
विज्ञप्तिमा स्पष्ट नखुलाए पनि ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले सामाजिक सञ्जाल फेसबुकमा हिन्दी सिनेमा आएपछि आफ्नो चलचित्रलाई हल नदिइएको र दिएका हलको सिट क्षमता पनि न्यून रहेको बताउँदै गुनासो पोखेर फिल्म हलबाट उतार्ने भनेका थिए ।
तर, निर्माताको भनाइलाई खण्डन गर्दै वितरकले प्रदर्शनलाई निरन्तरता दिने निर्णय गरेका हुन् । वितरकको पत्रपछि सोमबारको लागि पनि हलहरूले ‘पूर्णबहादुरको सारङ्गी’ शो तय गरेका छन् ।
यसबारे छलफल गर्न वितरकले निर्मातालाई बोलाएका छन् । ब्याङ्केस इन्टरटेनमेन्टका वितरक उज्ज्वल पौडेलले प्रदर्शनलाई निरन्तरता दिने आफूहरूको निर्णय रहेको बताए ।
‘पूर्ण बहादुरको सारङ्गी’ले २८ दिनसम्म देशव्यापी ४५ करोड ७४ लाख ग्रस कमाएको छ । त्यसयताको हिसाब सार्वजनिक नभए पनि राम्रो कमाइ गरेको छ ।