काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मूलपानी क्रिकेट मैदान निर्माणका क्रममा ठूलो अनियमितता भएको आरोप लगाएका छन् ।
क्रिकेट मैदानको निरीक्षण गर्न मूलपानी पुगेका उनले खेलाडीहरूले विदेशमा देशको झण्डा फहराएर इज्जत राखिरहेको अवस्थामा अनियमितता र भ्रष्टाचारको विषय आएकोमा आपत्ति जनाएका हुन् ।
आगामी १० दिनभित्र बजेटअनुसारको काम नभए कागेश्वरी नगरपालिका घेर्ने चेतावनी दिएका छन् ।
खेलाडीहरूका लागि होस्टेल बनाउन काठमाडौं महानगरपालिकाले दिएको १ करोड रुपैयाँ हिनामिना भएको राप्रपा केन्द्रीय सदस्य कुन्ती पोख्रेलको दाबी छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको बन्द कोठामा बनाइएको कागजी उपभोक्ता समितिमार्फत प्राविधिकले नै अनुपयुक्त भनेको ठाउँ (फोहोरको थुप्रो माथि) संरचना बनाएर नीतिगत भ्रष्टाचार भएको उने आरोप लगाइन् ।
कागेश्वरी मनोहरा नगरपालिकाले एसी, फर्निचर आदि सामान हालिसकेको जानकारी दिएको छ, तर ती सामानहरू कहाँ पुगे कसैलाई थाहा छैन, उनले भनिन् ।
कागेश्वरी मनोहरा नगरपालिकाले लाखौं रुपैयाँ बराबरको ग्राभेल हालेर राष्ट्रिय खेलकुद परिषद्को मास्टर प्लानविपरीत अन्य संरचना बन्नुपर्ने ठाउँमा पार्किङ बनाएको उनले बताइन्।
विद्युत् उपकरण राख्न प्राइभेट कम्पनीलाई जग्गा भाडामा लगाएको देखिएको उनको भनाइ छ । भ्रष्टाचारविरुद्ध बोल्न डर मान्नेहरू पनि दोषी नै हुन्, पोख्रेलले भनिन्, सत्य र न्यायका लागि सबै नेपाली एकजुट बनौं ।