काठमाडाैं । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको शुरूवात गरेको छ । आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर व्यस्त समयको व्यवस्थापन गरी छरितो सुविधा दिन यस्तो प्रणाली शुरू गरिएको बैंकले जनाएको छ ।
तत्कालको लागि नबिल बैंकको केन्द्रीय कार्यालय तीनधाराबाट यस प्रकारको सेवा दिन थालिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रविधिको प्रयोगमार्फत थप छरितो र कुशल सेवा प्रदान गर्न यो प्रणाली शुरू गरिएको बताए । ‘हामी ग्राहकहरूको चाहनालाई महसुस गर्दै नवीन समाधानहरू प्रदान गर्न कटिबद्ध छौं । अपोइन्टमेन्ट बैंकिङ प्रणालीले समय व्यवस्थापनमा सहयोग गर्ने, कुशल सेवा उपलब्ध गराउने हाम्रो लक्ष्यलाई प्रतिबिम्बित गर्दछ,’ ढुंगानाले भने ।
नबिलले व्यस्त पेशाकर्मी तथा व्यवसायीलाई लक्षित गरी नवीनतम् प्रविधिमा आधारित अपोइन्टमेन्ट बैंकिङ प्रणालीको प्रयोग गरेर ग्राहकले आफूले चाहेको समय अर्थात् आफूले बुक गरेको समयमा बैंकबाट सेवा लिन सक्नेछन् ।
नगद र चेक कारोबारजस्ता अत्यावश्यक बैंकिङ सुविधा लिनका यो सुविधा लिन सकिने बैंकले जनाएको छ । शुरूआतदेखि नै डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आएको नबिल बैंकले ग्राहकको अनुभवका आधारमा नयाँ-नयाँ प्रणालीमा आधारित कदम अघि बढाएको छ ।
अपोइन्टमेन्ट बैंकिङ प्रणाली डिजिटाइजेसन अन्तर्गतकै नयाँ आयामको रूपमा लिइएको छ । यो प्रणालीका मुख्य दुई विशेषता रहेको बैंकले जनाएको छ ।
समय व्यवस्थापनका लागि उपयुक्त : यो प्रणाली समयको अभाव भएका व्यस्त व्यक्तिहरू र व्यवसायीका लागि छिटो, कुशल र गुणस्तरीय सेवा प्रदान गर्न विशेष रूपमा डिजाइन गरिएको हो ।
सहज बुकिङ प्रक्रिया : ग्राहकहरूले नबिल बैंकको वेबसाइट वा एनबैंक एपमार्फत सजिलै अपोइन्टमेन्ट बुक गर्न सक्ने व्यवस्था गरिएको छ ।
ग्राहकहरूले नबिल बैंकको वेबसाइट वा एनबैंक एप प्रयोग गरी सजिलै अपोइन्टमेन्ट बुक गर्न सक्छन् । ग्राहकले बैंकमा जानु अघि उल्लेखित प्लेटफममार्फत लिनुपर्ने सेवा र आफूलाई सहज हुने समय छनोट गर्ने सुविधा दिइएको छ। यसले समय व्यवस्थापनलाई ठुलो सहयोग पुर्याउने विश्वास गरिएको छ।
नबिल बैंक लिमिटेड नेपालमा बैंकिङ क्षेत्रको एक अग्रणी संस्था हो । यो बैंकले ग्राहकको चाहनालाई केन्द्रमा राखेर नवीनतम् र ग्राहक–मुखी वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ। नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६८ शाखा र ३ सय २० एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।
नेपाली बैंकिङ क्षेत्रमा नवीनतम् सेवाको शुरूआत गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ।