तनहुँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले सुशासनका पक्षमा काम गर्नु पर्ने बताएका छन् ।
प्रेस सेन्टर नेपाल तनहुँ शाखाले दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आर्थिक समृद्धि हासिल गर्न सुशासन महत्वपूर्ण भएको बताएका हुन् ।
आर्थिक समृद्धिको लक्ष्य लिँदै सुशासन र जनताको पक्षमा काम गर्नु पर्ने अहिलेको आवश्यकता रहेको उपमहासचिव पुनको भनाइ थियो । उनले सरकारले यसका लागि गर्ने हरेक कार्यमा आफ्नो पार्टीको साथ रहने बताए ।
“सरकारले राम्रो काम गरोस् भन्ने हाम्रो चाहना हो, सरकारले जनताका पक्षमा र सुशासनका पक्षमा काम गर्नु पर्छ, यस्तो कार्यमा हाम्रो साथ र समर्थन रहने छ, माओवादी पार्टी अहिले सरकार फेरबदलमा लाग्दैन”, उनले भने ।
यस्तै, उनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएका तर वर्तमान शासन व्यवस्थाबारे कुरा उठ्न थालेकाले यसको सुधार आवश्यक रहेकामा जोड दिए ।