काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद सुनिल शर्माले ०८४ अघि कांग्रेस दुर्घटनामा जाने बताएका छन् । उनले संस्थापन पक्षले शेखर कोइराला र उनको समूहलाई पेलिरहे सो अवस्था निम्तने बताए ।
मंगलबार पत्रकार सम्मेलन गरेर उनले पार्टी क्याप्चर गरेर‚ शेखर समूहलाई पेलेर अघि बढ्ने दिवास्वप्न नदेख्न पनि चुनौती दिए । गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा शेरबहादुर देउवालाई पार्टी भित्र सम्मानजनक भाग र ओहोदा दिएको स्मरण गर्दै उनले ४१ प्रतिशत मत ल्याएको शेखर कोइरालालाई कोही हैन भन्ने व्यवहार अन्त्य गर्न चुनौती पनि दिए ।
‘उहाँहरूले यहीँ रवैया अपनाएर गए कांग्रेस पार्टीभित्र दुर्भाग्य हुन्छ । ०८४ अगाडी कांग्रेस दुर्घटनामा जान सक्छ‚’ उनले भने । उनले यसका विरुद्ध देशभर गएर कार्यक्रम गर्ने भन्दै पुस ५ गते धनगढीमा कार्यक्रम आयोजना गरिएको बताए ।
नेता शर्माले कोशी प्रदेशमा भएको भेला र प्रदेश सम्मेलन बहिस्कारको विषयमा जानकारी गराउँदै भने‚ ‘त्यहाँ एक किसिमले शेखर दाइलाई डोमिनेट गरेर निषेध गरेपछि हामीले सशक्त कुरा राख्यौँ । सभापतिज्यूले पछि कांग्रेस लोकतान्त्रिक दल हो विरोध गर्न बोल्न पाइन्छ भन्नुभयो ।’