बीआरआईसँगै बाह्य चलखेल, सत्तामा बढ्यो खतरा-Sutra News

बीआरआईसँगै बाह्य चलखेल, सत्तामा बढ्यो खतरा

मंगलबार, २५ मंसिर २०८१

मंगलबार, २५ मंसिर २०८१

काठमाडाैं । पछिल्लो चार महिना सत्ताको नेतृत्व नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् । यस अवधिमा उनले छिमेकी मुलुक भारतलाई आफ्नो पक्षमा बनाउन धेरै मेहनत गरे ।



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी नेपालको औपचारिक भ्रमण गर्न निम्तो दिए । यसअघि परराष्ट्रमन्त्री आरजु राणा देउवामार्फत आफ्नो सन्देश भारतीय समकक्षीसम्म पुर्याउन सफल भए ।

यसैबीच, गत हप्ता प्रधानमन्त्री ओली चार दिन अर्को छिमेकी मुलुक चीन भ्रमण गरी स्वदेश फिर्ता भएका छन् । सत्ता सम्हालेको १०० दिनसम्म भारतबाट भ्रमणको निम्तो नपाएपछि उनी चीन भ्रमण गरेका उनको दलका नेता तथा परराष्ट्र मन्त्रालयले जनाएको थियो ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणमा हुँदा सबैभन्दा चर्चाको विषय बनेको थियो, ‘बेल्ट एण्ड रोड इनिशटिभ’ (बीआरआई) । यस क्रममा उनले चीनको औपचारिक भ्रमणमा ऐतिहासिक महत्व राख्ने खालका सम्झौता भएको बताएका थिए । उनको भ्रमणमा नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कसहित विभिन्न क्षेत्रमा सहकार्यको सम्झौता भएको थियो ।

‘भ्रमणका क्रममा बीआरआईअन्तर्गत विभिन्न परियोजनाहरुको सम्झौता भएको छ, जुन सम्झौताबाट नेपालले अधिकतम लाभ लिने सक्नेछ’, प्रधानमन्त्री ओलीले भनेका थिए, ‘हरेक परियोजनाअन्तर्गत पछि छुट्टै छलफल र सम्झौता गर्छौं ।’

बीआरआई फ्रेमवर्क सम्झौता भएपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक भएको बताएका थिए । यो सम्झौता ऋण नभएको उनको दाबी थियो ।

प्रधानमन्त्रीको चीन भ्रमणपछि सत्ता साझेदारी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको भ्रमणबाट महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरे । उनले देशले ऋणको भार बढ्न नदिन बीआरआई सम्झौता राम्रो भएको बताए ।

प्रधानमन्त्रीको चीन भ्रमणअघि बीआरआईको बारेमा सत्ता गठबन्धनभित्र दुई मत देखिएको थियो । कांग्रेस–एमालेले पटकपटक बैठक बसेपछि बीआरआईमा सम्झौता गर्ने सहमति भएको हो । चीनबाट प्रधानमन्त्री फर्किंएपछि दुई दलका शीर्ष नेताहरुले एकै स्वरमा देशको हितमा भएको बताउँदै आएका थिए । तर, पछिल्लो समय कांग्रेसले बोली फेरेको छ ।

अर्थपूर्ण डोनाल्ड लुको भेटवार्ता

प्रधानमन्त्री ओलीले चीन भ्रमणमा बीआरआईको सम्झौता गरी स्वदेश फिर्ता भएसँगै अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने नेपाल भ्रमण सम्पन्न गरी फर्किए ।

दुई दिने भ्रमणमा नेपाल आइपुगेका लुले कांग्रेस सभापति देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरे । उनले प्रधानमन्त्री ओलीसँग भेट गर्ने कार्य तालिका नै बनाएनन् । तर, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टाचार भेट गरे । यस्तै, एमाले उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग भेट गरे ।

कांग्रेस सभापति देउवालाई भेट्न अमेरिकी सहायक विदेशमन्त्री लु देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । उनीहरूबीच द्विपक्षीय हितका विविध पक्षमा छलफल भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिएका थिए । यसबाहेक उनीहरुबीचको भेटबारे कुनै सूचना सार्वजनिक भएको छैन ।

अमेरिकी मन्त्री काठमाडौँमा सत्ता पक्ष र प्रतिपक्षी दलका शीर्ष नेताहरुसँग छलफल गरिरहँदा प्रधानमन्त्री ओलीले गृह जिल्ला झापामा कार्यकर्ताहरूलाई सम्बोधन गरिरहेका थिए । सम्बोधनमा उनले भनेका थिए, ‘हामी देशका लागि केही गर्छौं, अहिलेको संयुक्त सरकार पनि त्यही प्रयासमा लागेको छ ।’

प्रधानमन्त्रीले कांग्रेस–एमालेको सरकारले जनताको हितमा काम गरेको दाबी गरिरहँदा राजधानीमा अमेरिकी मन्त्रीले बीआरआईमा चासो राख्दै सत्ता परिवर्तनको संकेत दिएर फर्किए । यसअघि प्रचण्डले नचाहेर पनि आफूहरु सत्तामा जानु पर्ने अवस्था आउन सक्ने बताउँदै आएका थिए । अर्कातर्फ कांग्रेस महामन्त्री गगन थापाले देउवालाई प्रधानमन्त्रीको अफर आएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट