काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी छानविनका नाममा रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् ।
चितवनको भरतपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारमा रहेका दलले आफ्नाहरूलाई जोगाउँदै सारा ठगी रविनेले गरेको जस्तै प्रतिशोधपूर्ण व्यवहार गरिएको बताएका हुन् ।
देशभरका हजारौँ सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस–एमालेकै नेताहरुको बाहुल्यता भए पनि उनीहरुलाई बचाउन अहिलेको सरकार केन्द्रीत रहेको उनको आरोप थियो ।
प्रचण्डले रवि लामिछानेसँग कांग्रेस र एमाले तर्सिएकाले अनुसन्धानमा राख्ने काम भएको उल्लेख गरे । उनले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिए ।
सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उनको भनाइ थियो । विगतको गम्भीर समीक्षा गर्दै पार्टी र आन्दोलनलाई नयाँ सिराबाट अघि बढाउन प्रण गरेको उल्लेख गर्दै उनले सबैलाई यसमा सहयोग गर्न आग्रह गरे ।