काठमाडौं । मंसिर १६ मा सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा सत्तारुढ नेकपा (एमाले)ले दुई उपाध्यक्षसहित आठ स्थानमा जित हात पा¥यो । उपनिर्वाचनको मात्रै परिणामलाई केलाउँदा एमाले तेस्रो शक्तिको रूपमा उभिन सफल बन्यो ।
उपनिर्वाचनबाट नेपाली कांग्रेस पहिलो शक्तिको रूपमा देखिए पनि उसको पुरानो हैसियत निकै खस्किएको छ । सँगै जिल्ला संयोजक र वडाध्यक्ष जिते पनि मुख्य पदहरूमा भने हार व्यहोर्न बाध्य बनेको छ ।
उपनिर्वाचनबाट प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)लाई भने निकै उत्साहित बनाएको छ । उसले उसले यसअघिको तुलनामा थप केही वडाको नेतृत्व जितेको छ भने केही पालिकाको प्रमुख र उपप्रमुख आफ्नो पक्षमा ल्याएको छ ।
समग्रमा चुनावको नतिजा सत्ता पक्षका निम्ति निराश जगाउने र विपक्षीका निम्ति उत्साह ल्याउने खालको बन्यो ।
यद्यपि, चुनावको नतिजाबाट कांग्रेस खास प्रभावित नभइरहँदा एमाले भने निकै त्रसित देखिन्छ । एमालेले नतिजालाई ‘निकै गम्भीर’ भएको निष्कर्ष निकालेको छ ।
उपनिर्वाचनलगायतका समसामयिक विषयमा छलफल गर्न एमालेले मंगलबार पार्टी सचिवालय बैठक बोलाएको थियो । जसमा निर्वाचनको परिणाम निराश जगाउने खालको भएको निष्कर्ष निकालेको छ ।
विशेषगरी एमाले सहरी क्षेत्रको नतिजाबाट निकै निराश बनेको छ । कीर्तिपुरको मेयरमा तेस्रो बनेका एमालेले सोही पालिकाको वडाध्यक्ष र काठमाडौं–१६ को वडाध्यक्षमा हार व्यहो¥यो ।
“हामीले एउटा अध्यक्ष दुई वटा उपाध्यक्षसहित समग्रमा आठ स्थानमा जितेको छौँ, तर यति हुँदाहुँदै पनि परिणामलाई गम्भीर रूपमा लिएका छौँ, खासगरी कीर्तिपुर नगपालिका, त्यहाँका वडा र काठमाडौं महानगरपालिका(१६ जस्ता सहरी क्षेत्रमा हामीले जे अपेक्षा गरेका थियौँ, त्यो ढंगले परिमाण नआएकाप्रति हामी गम्भीर भएका छौँ”, बैठकपछि उपनिर्वाचनबारे एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भनेका छन् ।
एमालेले सहरी क्षेत्रमा खस्किएको मतलाई आफूहरु विरुद्धको सामाजिक सञ्जाल अभियानको रूपमा पनि विश्लेषण गरेको छ । उसले तल्लो कमिटीलाई प्रतिवाद गर्न पनि निर्देशन दिएको छ ।
“सामाजिक सञ्जाल दुरुपयोग गर्दै मिस-इन्फरमेसन, डिस-इन्फरमेसनहरूको माध्यमबाट राजनीतिक दल, नेताहरू, सरकार, प्रधानमन्त्रीको चरित्र हत्या गर्ने, भ्रम फैलाउने, जनतामा निराशा सिर्जना गर्ने, सामाजिक सद्भाव खलबल्याउने, कतिपय राजनीतिक नेताहरूले आफ्ना क्षणिक स्वार्थका निम्ति त्यस्ता कुरालाई बढवा दिने, त्यस्ता कुरामा जोडिने प्रवृत्ति देखा परेको छ”, बैठकको निर्णयबारे ज्ञवालीले भने, “यसका विरुद्ध हाम्रो पार्टी पंक्तिले राजनीतिक प्रतिवाद गर्नुपर्छ, यसका लागि पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गर्यौँ ।”
यसअघिका निर्वाचनमा गाउँमा भन्दा सहरी क्षेत्रमा एमालेको बलियो मत देखिएको थियो । गत २०७९को स्थानीय तहको उपनिर्वाचन र संघ र प्रदेशको उपनिर्वाचनमा पनि एमालेले धेरैजसो सहरी क्षेत्रमा बलियो मतान्तरसहित जित हात पारेको थियो ।
यद्यपि, अहिलेको स्थानीय तहको चुनावलाई हेर्दा, गाउँबाट मात्रै एमाले बढारिएको छैन, सहरबाट पनि बढारिन थालेको छ । जसलाई एमालेले सामाजिक सञ्जालको भ्रम र आफू विरुद्धको कुप्रचार भनेर व्याख्या गरेको छ ।
तर, एमालेको यो निष्कर्ष नै सही नभएको वामपन्थी विश्लेषक मुकुन्द आचार्य बताउँछन् । एमालेको निम्ति निराश बनाउने मत आउनुको पछाडि कुनै समूहको अभियान वा सामाजिक सञ्जालको प्रभाव नभई स्वयम् एमालेले सत्तामा बसेर गरेको कामको असर भएको उनले बताए ।
“उपनिर्वाचनको परिणाम एमालेको लागि खास राम्रो आएन, विशेषगरी सहरी क्षेत्रमा एमाले निकै कमजोर देखियो, तर यसको कारण स्वयम् एमाले नै हो”, आचार्य भन्छन्, “सरकारमा बसेर एमालेले कुनै लोकप्रिय निर्णय गरेन, उसले बदनामी मात्रै कमाइरह्यो, जसको परिणाम सहरी भेगको नतिजाले देखायो ।”
विभिन्न भ्रष्टाचारका मुद्दामा आफ्नालाई जोगाउने र विभिन्न काण्डमा मुछिने अवस्था बन्दा जनतामा एमाले बदनामित बनेको आचार्यको निष्कर्ष छ । “गिरिबन्धुलगायतका मुद्दालाई थाँती राखियो, सहकारी ठगीलगायतका मुद्दामा पनि आफ्नालाई जोगाइयो”, आचार्य भन्छन्, “मीनबहादुरले एमाले पुरै बदनामित भएको छ, यसको प्रभाव पर्ने कुरा स्वाभाविक छ ।”
सरकारमा रहेर यसैगरी बदनामी मात्रै कमाइरहने अवस्था भएमा एमाले आगामी चुनावमा थप कमजोर हुने आकंलन आचार्यको छ । “जनमत कसैको पेवा हुँदैन, अहिलेको चुनावले पनि सोही विषयलाई पुष्टि गरेको छ”, आचार्य अगाडि भन्छन्, “यदि यही अवस्था कायमै रहेमा अर्को चुनावसम्म एमाले थप कमजोर हुन्छ भन्दा अन्यथा हुँदैन ।”