काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने बताएका छन् ।
आफूले आधारभूत शिक्षा लिएको तेह्रथुमको आठराईस्थित प्रणाली माध्यमिक विद्यालयका नयाँ भवन उद्घाटन गर्दै ओलीले यसो भनेका हुन् ।
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा उक्त विद्यालयको गत वर्षको नतिजा कमजोर भएको सुन्दा खिन्नता व्यक्त गर्दै उनले विद्यार्थी पास भएनन् भने अभिभावकको लगानी र विद्यार्थीको मिहिनेत खेर जाने बताए ।
‘एसइईमा विद्यार्थी पास भएनन् भने उनीहरुको भविष्य समाप्त हुन्छ । एसइईभन्दा माथि जान नसक्दा उनीहरुमा निराशा उत्पन्न हुन्छ । विद्यार्थी फेल हुनु एक प्रकारको अपराध हो’, प्रधानमन्त्री ओलीले भने, ‘शिक्षकहरूमा ज्ञान सम्प्रेषणको कला विकास हुनुपर्छ । विद्यार्थीले मिहिनेत गर्नुपर्छ । पढाइमा सफल हुने विद्यार्थीले विकास र समृद्धिमा योगदान दिन सक्नेछन् ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले बाल्यकालमा पढेका र खेलेका दिनहरूको पनि स्मरण गरेका थिए ।
प्रधानमन्त्री ओलीले विद्यालय भवन निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाली संस्था युङ होङ गिल फाउण्डेसन र यसमा सघाउने सम्बन्धित पक्षलाई धन्यवा दिए ।