काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अनुकूलको आर्थिक क्रियाकलाप गर्न चाहनेविरुद्ध १८ महिना संघर्ष गर्नु परेको बताएका छन् ।
बिहीबार चितवनको भरतपुरमा नेपाल उद्योग व्यापार महासंघको तेस्रो साधारणसभा उद्घाटन कार्यक्रममा प्रचण्डले केही समूहले आर्थिक क्रियाकलाप सम्बन्धमा प्रधानमन्त्रीलाई डिक्टेट गर्न चाहेको भन्दै आफू त्यो स्वीकार गर्ने पक्षमा नरहेको बताए ।
आफू प्रधानमन्त्री हुँदा आर्थिक क्रियाकलाप समूहसँग लड्दै, संघर्ष गर्दै टिकेकाले गर्व र खुसीको महशुस भएको उनको भनाइ थियो । उनले नेपालमा भएका कृषिमा आधारित उद्योगहरू स्थापना हुनु पर्नेमा भएका पनि बेचेर खाने प्रक्रिया सुरु भएपछि देश पराधिन हुन पुगेको धारणा राखे ।
प्रचण्डले उद्योग व्यापार बलियो भए देशको आर्थिक अवस्था बलियो हुने बताउँदै स्वदेशमा रोजगार सिर्जना हुने भएकाले यसमा ध्यान केन्द्रीत गर्न महासंघलाइ सुझाव दिए ।