काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पास भएको छ । यससँगै उनी पदबाट मुक्त भएका छन् । उनको अनुपस्थितिमा प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपतिको रुपमा सरकार चलाउने छन् ।
राष्ट्रपति योलले उत्तर कोरिया र देशभित्रकै केही विपक्षीहरुबाट राष्ट्रियता खतरामा परेको भन्दै सैनिक शासन (मार्शल ल) लागू गर्ने निर्णय गरेपछि विवादमा तानिएका थिए । यद्यपि व्यापक विरोधका बीच उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए ।
विपक्षीले भने उनलाई पदबाट हटाउनैपर्ने भन्दै महाअभियोग प्रस्ताव ल्याएको थियो । सुरुमा ८ मत नपुग्दा महाअभियोग प्रस्ताव विफल भएको थियो । दोस्रो प्रयासमा शनिबार (आज) फेरि संसदमा महाअभियोगको पक्ष–विपक्षमा मतदान भएको थियो ।
यसपटक भने सत्तारुढ पिपुल पावर पार्टीका केही सांसदहरुले पनि महा अभियोगको पक्षमा मत दिएपछि प्रस्ताव पास भएको द कोरिया टाइम्सले लेखेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार राष्ट्रपति योलविरुद्धको महाअभियोग प्रस्तावको पक्षमा २०४ मत खसेको थियो भने ८४ मत विपक्षमा परेको थियो । ३ मत तटस्थ र ८ मत रद्द भएका थिए ।
सैनिक शासन घोषणाको ११ दिनपछि राष्ट्रपति विरुद्ध महाअभियोग प्रस्ताव पारित भएको हो ।