काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र अब २०६४ सालको जस्तै पहिलो शक्ति बनेर आउने दाबी गरेका छन् । दुई पार्टी एकता तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार रुपन्देहीको तिलोत्तमामा सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्र सिद्धियो भन्नेलाई आगामी निर्वाचनबाट ०६४ कै अवस्थामा पुर्याएर देखाइदिने उद्घोष गरे ।
प्रचण्डले भने, ‘माओवादी र प्रचण्डपथ सिद्धियो भन्नेलाई आउँदो २०८४ को निर्वाचनबाट देखाइदिने छौँ, आउदो निर्वाचनमा माओवादी २०६४ कै अवस्थामा फर्किने छ’, उनले थपे, ‘माओवादी सिद्धियो भन्नेलाई उप–चुनावले संकेत देखाइसकेको छ, विगतमा भएका केही त्रुटिलाई आत्मसमीक्षा र सुधार गर्दै नयाँ प्रतिबद्धताका साथ गुणात्मक फड्को मार्ने गरी हामी जनतातिर फर्किन्छौ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू जहाँ पुग्यो त्यहाँ जिन्दावादको नारा लागेको बताएका छन् । ‘पछिल्लो समय म जहाँ गएँ, त्यहीँ पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ । नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिने छैन,’ उनले भने ।
माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्मक ढंगले बुझ्दै गएको उनको भनाइ छ ।
अहिलेको सरकार अप्राकृतिक र अध्यारो कोठाबाट बनेको बताउँदै यो सरकारको काम भ्रष्टचारीलाई बचाउने र राम्रो गर्नेलाई सताउने रहेको उनको भनाइ थियो।
विचार, इमानदारमा को राम्रो छ भन्ने कुरा नेपाली जनताले बुझिसकेको भन्दै अहिलेको सत्तारुढ दलका नेता जिल्लामा जाँदा जनताले उनका विरुद्ध नारा लगाउन थालेको उनको भनाइ थियो। पार्टी नयाँ प्रतिबद्धताका साथ जनतामा जाने उनले प्रष्ट पारे ।