‘पुष्पा २’ को प्रभाव : भएका चल्न सकेनन्, नयाँ आउन सकेनन्-Sutra News

‘पुष्पा २’ को प्रभाव : भएका चल्न सकेनन्, नयाँ आउन सकेनन्

आइतबार, ३० मंसिर २०८१

आइतबार, ३० मंसिर २०८१

काठमाडौं । भारतीय हलहरुमा मात्रै होइन, नेपाली हलहरुमा पनि दक्षिण भारतीय फिल्म ‘पुष्पा २ : द रुल’को एकलौटी बचश्र्व छ भन्दा अतियुक्ति हुँदैन । १० दिनअघि डिसेम्बर ५ मा रिलिज भएको फिल्मले भारतमा जस्तै नेपालमा पनि शो र आम्दानीमा नयाँ–नयाँ रेकर्ड बनाइरहेको छ ।



अग्रिम बुकिङ्गका आधारमा फिल्म ‘पुष्पा २ : द रुल’ले सोमबार देशभर ३०० भन्दा बढी शो पाएको छ । मल्टिप्लेक्समा २५५ भन्दा बढी शो पाएको फिल्मले देशभरका सिंगल थिएटरमा पनि ४५ भन्दा बढी शो पाएको हो ।

आइतबारसम्म पाएको शोहरु हेर्दा, अधिकांश शो हाउसफूलको अवस्थामा छन् । जसको कारण हलहरुले राति १० बजेपछि पनि शो थपेका छन् । सोमबार पनि जसले निरन्तरता पाउने देखिएको छ ।

फिल्मले प्रदर्शनको सात दिनमै नेपाली हलहरुबाट १५ करोड ९० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । नेपाली फिल्म वितरकले गरेको लगानीअनुसार फिल्मले नाफा दिइसकेको देखिन्छ । नेपालका लागि झण्डै ७ करोड रुपैयाँमा खरिद गरिएको थियो ।

उच्च शो र दर्शकको उत्साहपूर्ण सहभागिता पाउँदै गर्दा फिल्म ‘पुष्पा २ : द रुल’को कारण एकातिर हलमा नेपाली फिल्महरुले आशातित शो पाएका छैनन् भने अर्कोतिर उनीहरुको व्यापार पनि अपेक्षाकृत छैन ।

नेपाली फिल्म उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ पनि ‘पुष्पा २ : द रुल’को कारण प्रभावित बन्यो । ‘पुष्पा २ : द रुल’को कारण ‘पूर्णबहादुरको सारङ्गी’को शो मात्रै कटौती भएनन्, फिल्मले दर्शकको आशातित साथ पनि पाएन ।

यता, मंसिर ७ मा रिलिज भएको फिल्म ‘तेल भिसा’को व्यापार पनि निकै खुम्चियो । सुरुवाती समयमा उच्च शो र दर्शकको राम्रो साथ पाएको फिल्मले ‘पुष्पा २ : द रुल’को कारण शो मात्रै गुमाएन दर्शकको साथ पनि पाएन ।

योबिचमा भएका त चलेनन् नै आउन खोज्ने पनि पाखा लागे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट