काठमाडौं । राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएसँगै नेकपा (एमाले)भित्र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित भूमिकालाई लिएर चर्चा परिचर्चा सुरु भएको थियो । एउटा कित्ताले भण्डारीलाई उच्च सम्मानका साथ उचित भूमिकामा ल्याउनुपर्ने माग राख्यो भने अर्को कित्ताले भण्डारीले राष्ट्रिय सम्मान लिएर बस्नुपर्ने तर्क सुनायो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली भने भण्डारीको विषयमा प्रवेश नै गर्न चाहेनन् । यद्यपि, पार्टीभित्र चर्चा–परिचर्चा चुलिँदै जाँदा उनले ‘राष्ट्रिय सम्मान लिएर बस्नुपर्ने’ सुझाव दिए ।
‘राष्ट्रपति भइसकेको व्यक्ति राष्ट्रिय सम्मानमा बस्नुपर्छ, फेरि राजनीतिमा आउनु राम्रो होइन, कसैले पनि त्यस्तो चाहना राख्नुहुन्न’, ओलीले गत २०८० साउन २९ मा बसेको पार्टी सचिवालयको बैठकमा भनेका थिए ।
ओलीले तत्कालीन समय भण्डारीलाई पार्टी अध्यक्षको भूमिका दिनुपर्छ भन्दै सार्वजनिकरूपमा वकालत गर्ने स्थायी समिति सदस्य कर्ण थापालाई कारबाही गर्नुपर्ने मत पनि सो बैठकमा राखेका थिए । यद्यपि, सो बैठकबाट ओलीको उक्त चाहना भने स्वीकृत हुन सकेन ।
त्यसयता औपचारिकरूपमा एमालेभित्र भण्डारीको विषयमा छलफल भएन । यद्यपि, पार्टीका प्रत्येक तहका प्रतिस्पर्धामा ओली भर्सेस भण्डारी सतहमै देखियो ।
विशेषगरी पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबिच भण्डारी र ओली कित्ताको नेतृत्व गर्दै तल्लो तहसम्मै प्रतिस्पर्धाको अवस्था बन्यो । जहाँ नेता तथा कार्यकर्ता राम्रै गरी विभाजित भए ।
कांग्रेस–एमाले सत्ता सहकार्यसँगै प्रदेश र केन्द्रमा भएका साझेदारीमा भण्डारी र ओली समूह बाँडिए । केन्द्रमा मन्त्री बनाउने र प्रदेशमा नेतृत्व दिने सन्दर्भमा पेचिलो विवाद देखियो । यद्यपि, पार्टी नेतृत्वको हिसाबले ओलीले भण्डारी समूहलाई पेलेरै लगे ।
ओलीका कतिपय निर्णय भण्डारी पक्षलाई निषेध गरेर गएको पनि देखिन्छ । जुन भण्डारी पक्षलाई मन्त्री दिने र मन्त्रीलाई भूमिका विहीन बनाउने सन्दर्भलाई लिन सकिन्छ ।
यद्यपि, ओली झन्डै २ वर्षपछि भण्डारीबारे खुलारूपमा बोलेका छन् । एमालेले आयोजना गरेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक’ कार्यशालालाई सम्बोधन गर्दै भण्डारीलाई जिम्मेवारीमा फर्काउन सकिने संकेत गरेका हुन् ।
“पूर्व राष्ट्रपति भण्डारीका विषयमा पनि विभिन्न चर्चा-परिचर्चा सुन्ने गरेको छु, उहाँलाई पार्टीले नै राष्ट्रपति बनाएको हो, अब पार्टीको जिम्मेवारीमा फर्काउने काम पनि पाटीकै हुन्छ”, भण्डारीलाई जिम्मेवारी फर्काउने संकेत गर्दै ओलीले भनेका छन् ।
ओलीले पार्टीभित्रको गुटगत राजनीतिबारे बोल्दै गर्दा भण्डारीको भूमिकाबारे खुलारूपमा बोलेका छन् । भण्डारीको विषयमा खुला देखिएका ओलीले सँगै गुटगत राजनीति सह्य नहुने सन्देश पनि नेताहरूलाई दिएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको मोडल एमालेमा लागु गर्नुपर्ने तर्क ओलीको छ । विशेषगरी बढ्दो गुटगत राजनीति र नेतृत्व विरोधी प्रवृत्तिलाई साम्य पारिनुपर्ने सन्दर्भमा बोलेका ओलीले चिनियाँ कम्युनिस्ट पार्टीको सिको गर्नुपर्ने धारणा राखेका हुन् ।
ओलीले एकातिर भण्डारीलाई समेटेर जाने सन्दर्भमा बोलेका छन् भने अर्कोतिर गुटगत राजनीतिलाई निषेध गर्नेबारे बोलेका छन् । राजनीतिक विश्लेषक ओलीको यो भनाई बाध्यात्मक शैलीमा आएको विश्लेषण गर्दछन् । पार्टीभित्रको आन्तरिक र बाह्य राजनीतिको कारण ओली खुलेको विश्लेषकको धारणा छ ।
“अहिले एकातिर एमालेभित्रको बढ्दो गुटगत प्रवृत्तिलाई तोड्नु छ भने अर्कोतिर कम्युनिस्ट पार्टीहरूलाई पनि एमालेप्रति आकर्षण जगाउनु छ”, वामपन्थी विश्लेषक मुकुन्द आचार्य भन्छन्, “ओलीको यो भनाई दुईतर्फी तिर हान्ने कोणबाट आएको छ, यद्यपि यो बाध्यात्मक परिस्थितिको उपज हो ।”
उनका अनुसार एमालेको घट्दो लोकप्रियतालाई सही ठाउँमा ल्याउने उपायको खोजीमा ओली छन् । जसमा भण्डारीलाई समेट्ने सन्दर्भ महत्वपूर्ण अस्त्र हुनसक्छ ।