

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रारम्भिक चरणको अन्तिम खेलमा सोमबार कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि एक सय दुई रनको लक्ष्य दिएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय एक रन बनाएको हो । प्ले अफ चरणमा पुग्न आफ्ना लागि निकै महत्वपूर्ण रहेको खेलमा पनि कर्णाली याक्सका माथिल्लो क्रमका ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न सकेनन् । टोलीको कुल स्कोर ५० रन पुग्नुअगावै कर्णाली याक्सले आफ्नो महत्वपूर्ण चार विकेट गुमाइसकेको थियो ।
कर्णाली याक्सका लागि छैटौँ नम्बरमा क्रिज समाल्न आएका जिसन मक्सुदले सर्वाधिक ३० रनको योगदान गरे । उनले ३५ बलको सामना गरी चार चौका पनि हिर्काए । टोलीका ओपनर ब्याट्सम्यान बाबर हायात भने नौ बलमा तीन चौकाको मद्दतले १३ रन बनाउँदै आउट भएका थिए ।
अर्का ओपनर रित गौतमले त खातासम्म खोल्न सकेनन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएका चाडविक वाल्टनले ११ रन बटुले । विकेटकिपर ब्याट्सम्यान वाल्टनले १६ बलको सामना गरी एक चौका हिर्काएका थिए । चौथो नम्बरका ब्याट्सम्यान देब खनाल पनि सात रनभन्दा अगाडि बढ्न सकेनन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विलियम बोसिस्टोले २४ बलमा एक चौकाको मद्दतले १६ रन बनाए । यसबिचमा जिसन मक्सुदले टोलीलाई केही राहत दिएका थिए ।
यसैगरी, लिग चरणको अन्तिम एक खेल बाँकी रहँदा ६ खेलबाट आठ अंक जोडेको कर्णाली याक्स चौथो र सात खेलबाट आठ अंक बटुलेको काठमाडौँ गुर्खाज पाँचौँ स्थानमा आसिन छन् । यी दुईमध्ये एक प्ले अफ चरणमा पुग्ने अन्तिम टोली बन्नेछ । सात खेलबाट चार अंक जोडेको विराटनगर किङ्स ९छैटौँ स्थान०, समान खेलबाट समान अंक बटुलेको पोखरा एभेन्जर्स ९सातौँ स्थान० र सात खेलबाट केवल दुई अंक हात पारेको लुम्बिनी लायन्स ९आठौँ स्थान० भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।