प्रधानमन्त्रीलाई वामदेवको चुनौती- भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनुस्-Sutra News

प्रधानमन्त्रीलाई वामदेवको चुनौती- भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनुस्

सोमबार, १ पौस २०८१

सोमबार, १ पौस २०८१

काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच भएको फोन संवादबारे प्रष्टीकरण दिएका छन् ।



एक विज्ञप्ति जारी गर्दै उनले फोन संवादको अडियो सार्वजनिक गर्न ओलीलाई चुनौती समेत दिएका हुन् ।

दुई दिनअघि एक भाषणमा ओलीले वामदेवसँगको फोन संवादको किस्सा सुनाएका थिए । ओलीका अनुसार वामदेवले उनलाई स्वकीय सचिव राजेश बज्राचार्य भन्ठानेर कुरा गर्दै ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने बताएका थिए ।

मदन भण्डारीको हत्या काँग्रेसले गरेको हो भनेर बोलिएको आफ्नो फेक अडिओको आधारमा वामदेवले राजीनामा मागेको ओलीको आरोप थियो ।

ओलीले भनेका छन्, ‘फोन मैले उठाएको थिएँ, तर उहाँ राजेश भन्ठानेर मसित बम्किनुभयो ।’

यस्तो छ वामदेवको स्पष्टीकरण

​तपाईंको स्वर र तपाईंकै शैलीमा राष्ट्र नेता मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो । हेरेपछि म छाँगाबाट खसेजस्तो भएँ ! त्यसपछि मैले आफ्नो पहिलो कर्तव्य तपाईंबाटै जानकारी लिने हो भन्ने ठानेँ । त्यसपछि मैले मेरोमा भएको तपाईंको फोनमा कल गरेँ, तर फोन लागेन । त्यसपछि मैले क. राजेशलाई उहाँकै फोनमा लिंक पठाइ दिएँ र तुरुन्तै कल गरेँ, उहाँले कल रिसिभ गर्नुभयो र सदा झैं नमस्कार कमरेड भन्नु भयो।

त्यसपछि मैले उहाँलाई भनेँ- एउटा सिरियस लिंक मेरोमा आयो केपी कमरेडको फोन उठेन र तपाईंलाई पठाइदिएको छु, तु उहाँलाई पठाइदिनुस् । मलाई यो धेरै सिरियस लागेको छ। प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्न पर्ने हुन सक्छ।

यो भन्दा बढी मैले एक शब्द पनि बोलेको छैन। फोन नम्बर राजेश कै हो। राजेशलाई धुलोमा खेल्ने अवस्थादेखि मैले जान्दछु।

यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोशिश गर्नुहोला भन्ने मलाई लागेको थिएन।

क. केपी म तपाईंलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनुस् ! पीएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ।

वामदेव गौतम
१ पुस २०८१

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट