काठमाडौं । सोमबार बस्ने भनेको अर्थ समितिको बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ ।
सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० माथि संशोधनकर्तासँग छलफल गर्न भनेर बोलाईएको समितिको बैठक गणपूरक सङ्ख्या नपुगेपछि अर्को सूचना नभएसम्मका लागि आजको बैठक स्थगित भएको सभापति सन्तोष चालिसेले जानकारी दिए । प्रतिनिधिसभा नियमावली २०७९ ले संसदीय समितिको गणपूरक सङ्ख्या समितिको तत्काल कायम रहेको सदस्य सङ्ख्याको ५१ प्रतिशत हुनुपर्ने व्यवस्था राखेको छ ।
समितिको बैठकमा गणपूरक सङ्ख्या नपुगेसम्म समितिको सभापतिले बैठकको कार्य स्थगित गर्न वा अर्को कुनै समय वा दिनसम्मको लागि बैठक स्थगित गर्नसक्ने व्यवस्था नियमावलीमा छ । अर्थ समितिमा तत्काल कायम सदस्यको सङ्ख्या २३ रहेकोमा आजको बैठकमा सभापति चालिसेसहित ८ जनाको मात्रै उपस्थिति थियो ।