काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगर चलिरहेको बैठकमा नेताहरूको कार्यविभाजन, आगामी कार्ययोजना, समसामयिक राजनीतिलगायतका विषयहरूमा छलफल भइरहेको छ ।
बैठकमा विशेषगरी पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतले बेग्ला–बेग्लै राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । स्थायी कमिटीका सदस्यहरूले बोल्ने क्रम नसकिएकोले बैठक थप लम्बिने सम्भावना छ ।
जारी बैठकमा विशेषगरी नेकपा (माओवादी केन्द्र)सँगको पार्टी एकताको विषयमा नेताहरुले धारणा राखेका छन् । अधिकांश नेताहरुले माओवादी केन्द्रसँग एकता गर्न नहुने मत जाहेर गरेका छन् ।
बैठकमा सम्मानित नेता झलनाथ खनालले प्रतिवेदन पेश गर्दै पार्टी एकतालाई हल्काफुल्का ढङ्गले हेर्न नहुने बताएका छन् । उनले तत्काल कसैसँग एकता सम्भव नरहेको धारणा राखेका छन् ।
“पार्टी एकीकरण एउटा गहन प्रकृया हो । त्यसलाई हल्काफुल्का ढङ्गले हेर्नु हुँदैन । सम्बन्धित समूहहरू बीच वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक कार्यदिशामा एकरुपता बिना पार्टी एकीकरण सम्भव हुँदैन”, खनालले आफ्नो प्रतिवेदनमा भनेका छन्, “तर साझा सवालमा कार्यगत एकता जहिले पनि गर्न सकिन्छ । आजको आवश्यकता सबै वामपन्थीहरूबीच साझा सवालमा कार्यगत एकता गर्नु नै हो । त्यो एकताबाट नै पार्टी एकीकरणको उचाइ तिर क्रमिक रुपले अघि बढ्न सकिन्छ ।”
खनालकै भाषामा महासचिव घनश्याम भुसालले पनि राजनीतिक प्रतिवेदन पेश गरेका छन् । जहाँ उनी थप उचाईमा चढ्दै वाम एकता नै व्यावहारिकरूपमा सम्भव नभएको बताएका छन् ।
“सैद्धान्तिक रूपमा वाम एकता आजको आवश्यकता हो तर व्यावहारिक रूपमा अहिले त्यो सम्भव छैन”, भुसालले प्रतिवेदनमा उल्लेख गरेका छन्, “आन्दोलनबाट पार्टी निर्माण गर्ने हाम्रो पहलकदमीले नै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पार्नेछ, आन्दोलनको उद्देश्य, माग र स्वरूपमा समानता हुने व्यक्ति, समूह र पार्टी एक ठाउँमा उभिने अवस्था आउँछ र वाम तथा कम्युनिस्ट एकताको प्रक्रिया अगाडि बढ्छ ।”
एमाले र माओवादी केन्द्रका बीचमा यसअघि भएको पार्टी एकतापश्चात बनेको नेकपाको उदाहरण दिँदै भुसालले माथि टाउकामा मात्र एकता गरे असफल हुने बताएका छन् । “नेतृत्वका केही मानिसका सत्ता स्वार्थका कारण गरिने एकता भरपर्दो हुँदो रहेनछ भन्ने उदाहरण २०७५ सालमा भएको एमाले र माओवादी केन्द्रका बीचको एकता, कचिंगल र विभाजनले देखाएको छ”, भुसालले प्रतिवेदनमा लेखेका छन्, “त्यस घटनाबाट हामीले धेरै कुरा सिक्नुपर्नेछ ।”
माओवादी केन्द्रसँग तत्काल पार्टी एकता गर्न नहुने सुझावसहित आएको प्रतिवेदनमा अधिकांश सदस्यहरू सहमत देखिएका छन् । पार्टीलाई बलियो नबनाएसम्म माओवादी केन्द्रसँग एकता गर्न नहुने नेताहरूको धारणा रहेको छ ।
नेता साध्यबहादुर भण्डारीका अनुसार बैठकमा प्रतिवेदन लेख्ने र बोल्ने अधिकांश नेताहरुले एकताको विपक्षमा धारणा राखेका छन् । सबैसँग संवाद गर्न सकिने यद्यपि, अहिले पार्टी निर्माणमै जोड दिनुपर्ने भनाई नेताहरुको छ ।
“विगतका घटनालाई बिर्सन हुँदैन, अहिले भइरहेका स्थितिलाई पनि ध्यान दिनुपर्छ भन्ने धारणा सबैजसोको छ”, उनले भने, “मुद्दागतरुपमा सहकार्य सबैसँग हुनसक्छ तर पार्टी एकताको विषय प्रवेश गर्न हुँदैन भन्नेछ ।”
माओवादी केन्द्र र एकीकृत समाजवादीका बिच पार्टी एकताको सन्दर्भमा पटक–पटक छलफल भएको छ । विशेषगरी दुवै पार्टीका शीर्ष तहबाट एकाकार बनाएर जानुपर्ने भनाई बाहिर आइरहेको छ ।
माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिकरुपमै एकीकृत समाजवादीलगायतका पार्टीहरुसँग एकताको छलफल अन्तिम चरणमा रहेको बताएका छन् । स्वयम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि एकताको पक्षमा उभिएका छन् । उनको राजनीतिक प्रतिवेदन पनि एकताको पक्षमै छ ।
यद्यपि, एकीकृत समाजवादीको बैठकलाई हेर्दा, माओवादी केन्द्रसँग एकता गर्न हुँदैन भन्ने मत बलियो बनेको देखिन्छ । जसले स्वयम् अध्यक्ष नै अल्पमतमा परेको पनि देखाउँछ ।