काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालमा दलाल पुँजीवाद संस्थागत भएको बताएका छन् । सिरहाको गोलबजारमा सोमबार आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् ।
‘नेपालमा नयाँ किसिमको अर्थव्यवस्था देखिएको छ, त्यो हो दलाल पुँजीवाद,’ उनले भने, ‘यो व्यवस्थामा दलाल बिचौलियाहरू दलाली गरेर बिना लगानी करोडौँ अर्बौँ कमाइरहेका छन् ।’ मुलुकमा दलाल, बिचौलिया र नोकरशाहहरू मन्त्रीदेखि प्रधानमन्त्रीसम्म नियुक्त गर्ने हैसियतमा पुगेको यादवले बताए ।
मुलुकको सधैँभरि बागडोर सम्हालेको काँग्रेस, कम्युनिस्ट र नोकरशाहहरूले दलाल पुँजीवादलाई संरक्षण गर्दै यसको संस्थागत गरेको यादवको भनाइ छ । उनीहरूले कमिसनतन्त्र र लुटतन्त्र संस्थागत गर्दै लोकतन्त्रलाई बर्बाद पारेको उनले आरोप लगाए ।
नेपालमा काँग्रेस र कम्युनिस्ट असफल र निकम्मा सिद्ध भएको भन्दै उनीहरूबाट अझै पनि आशा गर्नु मूर्खताबाहेक केही पनि नहुने यादवले बताए । उनले काँग्रेस, एमाले, माओवादी, राप्रप्राहरू नामका लागि फरक-फरक भनिए पनि सिद्धान्त भने सत्तामा गएर लुट्नु नै रहेको यादवले बताए । यी दलहरूले मुलुकको शिक्षा, स्वास्थ्य, कृषि, उद्योग सबै क्षेत्रलाई ध्वस्त पारेको यादवले आरोप लगाए । मुलुक अहिले २४ खर्ब ऋणमा डुबेको र यो सबै रकम उनीहरूले भ्रष्टाचार गरेको यादवको आरोप छ ।