काठमाडौं । साताको दोस्रो कारोबार दिन (मंगलबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले बढेको छ । प्रिसेसनमा २.२६ अंकले बढ्दै नेप्से २६३३.१८ को बिन्दुमा उक्लिएको छ ।
यो सेसनमा विशेषगरी हाइड्रो समूहका कम्पनीको किनबेच बढी भयो ।
परिसूचक बढेपनि यो सेसनमा कारोबारमा आएका अधिकांश कम्पनीको भने मूल्य घट्यो । कारोबारमा आएका ३२ कम्पनीमध्ये १७ को मूल्य घट्दा १३ को मूल्य बढ्यो भने २ को मूल्य स्थिर रह्यो ।
३ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा यो सेसनमा ३० लाख १८ हजार रुपैयाँको कारोबार भयो ।
नेप्से केही कारोबार दिनदेखि नै करिब उच्च अंकले घटिरहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन उच्च अंकले घटेर बन्द भएको नेप्से यस साताको पहिलो कारोबार दिन सोमबार पनि उच्च अंकले घटेको थियो ।
लगातार उच्च अंकको गिरावटका बिच नेप्सेले लगानीकर्तालाई निराशा जगाएको छ । यद्यपि, साइडवेज ट्रेण्डमा घटबढ भइरहनुलाई सामान्य मान्नुपर्ने तर्क बजारका जानकारको छ ।