काठमाडौं । “प्रचण्ड कमरेड प्रधानमन्त्री हुँदा पनि दिनदिनै उहाँको कुरा ‘सरकार ढल्दैन है’ भन्दै भाषण गर्ने थियो, आजकाल केपीजी हुनु भएको छ, केपीजीको पनि कामै जम्माजम्मी यो सरकार ढल्दैन है भन्ने छ”, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गत मंसिर ८ मा काठमाडौंमा आयोजित एक सभालाई सम्बोधनका क्रममा भनेका थिए, “जनतालाई के लागेको छ भने यो सरकार राति ढल्न सक्छ, यो रातको १२ बजे ढल्न सक्छ, यो बिहानै उछिट्टिन सक्छ ।”
विप्लवले सार्वजनिकरूपमा दिएको यो अभिव्यक्तिको मर्म निकै गहिरो छ । साथै, सामान्य आधारमा बोलिएको पाइँदैन । गहिरिएर हेर्दा, सरकारको भविष्य निकै ढलपलमा देखिन्छ । विप्लवले भने झैँ प्रधानमन्त्री स्वयम् र सत्तारुढ दलका शीर्ष नेताहरूको अभिव्यक्ति जम्माजम्मी सरकार ‘ढल्दैन है’ भन्ने मात्रै नै भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्येक सार्वजनिक अभिव्यक्तिमा सरकारको भविष्यबारे बोलिरहेको पाइन्छ । उनले असार १७ मा भएको कांग्रेस–एमाले सम्झौताअनुसार नै सरकार पूर्ण कार्यकाल जाने बताइरहेका छन् ।
चीनको औपचारिक भ्रमणबाट फर्किएका ओलीको पहिलो सार्वजनिक अभिव्यक्ति नै सरकार ढल्दैन भन्ने थियो । “अब करिब–करिब १७–१८ महिना मेरो पालो, त्यसपछि शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु, उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ, हाम्रो चुनावसम्मको एग्रिमेन्ट छ”, त्रिभुवन विमानस्थलमा चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्री ओलीले भनेका थिए ।
त्यसयता पनि ओलीले यही अभिव्यक्ति सार्वजनिकरूपमा दोहोर्याइरहेका छन् । मंसिर २४ झापा ओर्लिएका ओलीले ‘१८ महिनापछि देउवा प्रधानमन्त्री हुने’ बताएका थिए ।
प्रधानमन्त्री ओलीले एउटै विषय किन दोहो¥याइरहेका छन् ? उनी कसलाई ढुक्क बनाउन खोज्दै छन् ?
विप्लवले भने झैँ प्रधानमन्त्री ओलीको काम जम्माजम्मी सरकारको भविष्यबारे बोल्ने मात्रै बनेको छैन, अहिलेका सत्तारुढ दलका शीर्ष नेताहरूको काम पनि त्यस्तै देखिन्छ । प्रत्येक शीर्ष नेताहरू सरकारको भविष्यबारे बोलिरहेका छन् । सँगै नेताहरू आमरूपमा सरकार ढल्दैन भन्दै मनोविज्ञान बनाउने प्रयासमा पनि देखिन्छन् ।
अहिले विशेषगरी कर्मचारी संयन्त्रलाई थुमथुम्याउनु निकै सकस परिरहेको देखिन्छ । सोही कारण प्रधानमन्त्रीदेखि शीर्ष नेताहरू कर्मचारीलाई सरकारबारे ढुक्क हुन आग्रह गरिरहेका छन् ।
‘अहिलेको सरकार संसदका ठूला दुई दलको बलियो सरकार हो, यो दुई दलले नचाहँदासम्म कसैले चाहेर ढल्दैन, यथार्थ यही हो, नडराई ढुक्कले काम गर्न गर्नुस्’, सोमबार एमाले निकट कर्मचारी संगठनको विधान अधिवेशनलाई सम्बोधनका क्रममा एमाले महासचिव शंकर पोखरेलले भनेका थिए ।
स्मरणीय छ, यसअघिको सरकार ढलपल हुँदै गर्दा तत्कालीन प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति पनि यस्तै प्रकृतिको आउने गर्दथ्यो । उनले विशेषगरी कर्मचारी संयन्त्रबाट अप्ठ्यारो पर्ने अवस्था देखेपछि यसैगरी थुमथुम्याउने गरेका थिए ।
तत्कालीन शैलीमा अहिले पनि किन यस्तै प्रकृतिको अभिव्यक्तिहरू आइरहेको छ ? राजनीतिक वृत्तमा यो बहसको विषय बनेको छ ।
अंकगणितको बलियो साथ हुँदाहुँदै बारम्बार सरकारको स्थायित्वलाई लिएर सत्तारुढबाटै प्रश्न उठाइनुले प्रश्न उब्जाएको छ । बारम्बारका यस्ता अभिव्यक्तिले सत्तापक्षभित्रै अविश्वास, आशंका र खटपटको संकेत देखिन्छ ।
अहिले राजनीतिक वृत्तमा भारतीय गुप्चतर एजेन्सी ‘रअ’ (रिसर्च एन्ड एनालिसिस विङ)का भूतपूर्व एजेन्ट लक्की विष्टले दिएको एक अन्तर्वार्ता चर्चामा छ । जसमा ओली नेतृत्वको सरकार केही दिनमै ढल्ने दाबी गरिएको छ ।
नवभारत टाइम्ससँगको अन्तर्वार्तामा रअका भूतपूर्व एजेन्ट विष्टले भनेका छन्, “तपाईँलाई अचम्म लाग्ला, तपाईँले केही दिनपछि एउटा अर्को समाचार सुन्नुहुन्छ, नेपालको सरकार ढल्ने वाला छ ।”
सरकारको भविष्यलाई लिएर प्रश्न स्वयम् सरकारमा बस्नेहरूले गहिरोगरी उठाएको राजनीतिक विश्लेषक मुकुन्द आचार्य बताउँछन् । विशेषगरी सरकारको कमजोर प्रदर्शनले मात्रै किचलो बनाएको छैन, आमरूपमा मनोविज्ञान बिग्रँदा पनि सरकारबारे प्रश्न उठ्न थालेको छ ।
“उपनिर्वाचनको परिणामलाई सामान्य मान्न मिल्दैन, यो सरकारको काम गराइको जवाफ पनि हो, यसले सरकार कति कमजोर छ भन्ने देखाउँछ”, आचार्य भन्छन्, “अहिले जसरी प्रश्न उठ्यो, यो प्रश्न स्वयम् सत्तारुढबाट उठाइएको हो, अवस्था सत्तारुढबाटै सिर्जना गरिएको हो, यसले सरकारको आयुबारे गम्भीर प्रश्न उठाएको छ ।”
आचार्यको विश्लेषणमा बाह्य सम्बन्धले पनि सरकारको भविष्यलाई लिएर प्रश्न उठाएको छ । “चीनले खास विश्वास गरेको अवस्था छैन, भारतले त वास्ता नै गरेको छैन, अझ भनौँ रुचाएको छैन, जसको प्रभाव स्वतः पर्नेवाला देखिन्छ”, उनले भनेका छन्, “यद्यपि, सबैभन्दा महत्वपूर्ण कारक आन्तरिक नै हो ।”