सेयर बजारमा थामियो पहिरो-Sutra News

सेयर बजारमा थामियो पहिरो

मंगलबार, २ पौस २०८१

मंगलबार, २ पौस २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन (मंगलबार) सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले बढेको छ । मंगलबार २.९५ अंकले बढ्दै नेप्से २६३३.८७ को बिन्दुमा उक्लिएको छ ।



नेप्सेमा केही कारोबार दिनदेखि नै निरन्तर गिरावट चलिरहेको थियो । सोमबार मात्रै नेप्से ५१.३७ अंकले घटेको थियो । यद्यपि, मंगलबारको कारोबारले नेप्सेमा निरन्तर चलिरहेको पहिरो थामिएको संकेत गरेको छ ।

झिनो अंकले नेप्से बढ्दै गर्दा आज ८ समूहको सूचक बढ्यो भने ५ समूहको सूचक घट्यो । समग्रमा १ प्रतिशतकै हाराहारीमा उतारचढाव रह्यो ।

कारोबारमा आएका २४४ कम्पनीमध्ये ११७ कम्पनीको मूल्य बढ्दा ११७ को मूल्य घट्यो । १० कम्पनीको भने मूल्य स्थिर रह्यो ।

आज सर्पोट माइक्रो फाइनान्सको मूल्य १० प्रतिशतले बृद्धि हुँदा कुथेली बुखारी स्माल हाइड्रोपावरको मूल्य १० प्रतिशतले नै घट्याे ।

लगातारको पहिरोका बिच नेप्सेमा कारोबार रकम भने घटेको छ । आज ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँमै सीमित भयो । जुन २८ कारोबार दिनयताकै कम हो ।

मंगलबारको कारोबारसँगै मनोविज्ञान स्थिर भएको संकेत गरेको छ । यसले आगामी दिनमा बजार बढ्न सक्ने सम्भावनालाई पनि दर्शाएको छ ।

साइडवेज ट्रेण्डमा चलिरहेको बजारमा उतारचढाव भइरहन्छ । जसको प्रभावको रुपमा अहिलेको कारोबारलाई लिन सकिने बजारका जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट