दसैंको सिको गर्दै शिवरात्रीमा भिड्दैछन् तीन नेपाली चलचित्र-Sutra News

दसैंको सिको गर्दै शिवरात्रीमा भिड्दैछन् तीन नेपाली चलचित्र

मंगलबार, २ पौस २०८१

मंगलबार, २ पौस २०८१

काठमाडौं । यसपटकको दसैंमा झैं आगामी शिवरात्रिमा पनि बक्सअफिसमा नेपाली चलचित्रहरुको भिडन्त हुने भएको छ । तीन नेपाली चलचित्र ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिलीली’ एकै पटक लाग्न लागेका हुन् । तीन फिल्म फागुन १४ गते एकै साथ हलमा लाग्दैछन् ।



फिल्म ‘लाज शरणम्’ चर्चित सिरियल ‘सक्किगोनि’ टिमको पहिलो चलचित्र हो भने ‘मायावी’मा पल शाह र दीपिका प्रसाईंको फिल्म हो । ‘फेरि रेशम फिलीली’ विनय श्रेष्ठ र सुपुष्पा भट्ट अभिनीत चलचित्र हो । जुन ‘रेशम फिलीली’को दोस्रो संस्करण हो ।

तीन चलचित्रमध्ये सुरुमै ‘लाज शरणम्’ ले शिवरात्रिलाई केन्द्रित गरी मिति तय गरेको थियो । तर, ‘मायावी’ र ‘फेरि रेशम फिलीली’ले क्रमशः एकपछि अर्को गरी सोही मिति तय गरेका हुन् ।

चलचित्र ‘लाज शरणम्’मा सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), विजय बराल, कमलमणि नेपाल, बबिन राई (गल्फने बाजे), हरिष निरौला (कक्रोज), सिताराम कट्टेल, प्रियना आचार्य (मुन्नी), माला लिम्बु, मुकुन्द श्रेष्ठ, देशभक्त खनाल लगायतको अभियन छ । जसको निर्देशन कुमार कट्टेल (जिग्री)ले गरेका छन् ।

चलचित्र ‘मायावी’मा पल र दीपिकासँगै सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेललगायतको अभिनय छ । जसलाई दीवाकर भट्टराई निर्देशन गरेका छन् ।

त्यस्तै, ‘फेरि रेशम फिलीली’ मा विनय र सुपुष्पासँगै नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठीलगायतको अभियन छ । जसलाई निरोज महर्जनले निर्देशन गरेका छन् ।

गएको दसैंमा पनि तीन वटा चलचित्र सँगै जुधेका थिए । ‘छक्का पन्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ फुलपातीको दिन एकै पटक प्रदर्शनमा आएका थिए । तीन नेपाली चलचित्र जुद्दा व्यापारमा भने खास प्रभाव परेको थिएन । ‘छक्का पन्जा ५’ र ‘१२ गाउँ’ले यसअघिका रेकर्डलाई ब्रेक गर्दा ‘ज्वाइँ साब’ले आशातित व्यापार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट