काठमाडौं । महोत्तरीमा विवाहको विषयमा विवाद हुँदा प्रेमीले प्रेमिकाको हत्या गरेको खुलेको छ।
जिल्लाको महोत्तरी गाउँपालिका–४ बस्ने २३ वर्षीया अनु रायको हत्या गरेको आरोपमा उनकै प्रेमी सर्लाहीको चक्रघट्टा गाउँपालिका–९ खोरिया गाँउका मन्दिप कुमार यादवलाई पक्राउ गरी मंगलबार प्रहरीले सार्वजनिक गरेको हो।
महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार गत असोज २३ गते बर्दिवास नगरपालिका–५ टुटेश्वर जंगलमा नालीमा शव फेलापरेको घटनामा अनुसन्धान गर्दै जाँदा प्रेमीले नै विवाहको विषयमा विवाद हुँदा डोरीले घाँटी कसेर हत्या गरेको खुलेको हो।
प्रवक्ता जैसवारले भने, ‘मृतकको मन्दिपसँग पुरानो चिनजान रही एकअर्कालाई प्रेम गर्ने गरेका थिए। दुवै जना विवाह गर्ने वाचासहित असोज २२ गते टुटेश्वर मन्दिर गएको खुलेपछि पक्राउ अनुमति लिई खोजतलाश गर्ने क्रममा सोमबार पर्साको वीरगञ्ज माहानगरपालिका–४ आदर्शनगरबाट पक्राउ गरेका छौँ।’
प्रवक्ता जैसवारका अनुसार मन्दिपले टुटेश्वर मन्दिरबाट फर्किने क्रममा विवाह गर्ने विषयमा विवाद हुँदा डोरीले घाँटी कसेर अनुको हत्या गरेको स्वीकार गरेका छन्।
मंगलबार महोत्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।