काठमाडौं । साताव्यापी लामो स्थायी समिति बैठकले नेकपा (एकीकृत समाजवादी)भित्रको विवाद तत्कालका लागि थामथुम भएको छ ।
साढे ५ महिनाअघि असार १६–२० काठमाडौंमा भएको महाधिवेशनसँगै एकीकृत समाजवादीभित्र विवाद चुलिएको थियो । महाधिवेशनले पार्टी अध्यक्ष, सम्मानित नेता र महासचिव पदमा चयन गरे पनि अन्य पदमा भने निर्णय लिन सकेको थिए ।
जसको विवाद निर्वाचनबाट हल गर्ने प्रयत्न गरिएको थियो । भदौ दोस्रो साता चुनावी प्रक्रियाबाटै पदाधिकारी चयन भए पनि त्यसले थप विवाद बढायो । चुनावी प्रक्रियामा हारेका उम्मेदवारहरू पार्टी विभाजनकै प्रक्रियामा देखिए ।
जसलाई यस पटक (मंसिर २६ देखि पुस २)को स्थायी समिति बैठकले सम्बोधन गरेको छ । हारेका उम्मेदवारलाई पुरानै स्थानमा जिम्मेवारी दिएको छ भने कार्य विभाजनमा देखिएको विवाद पनि टालटुल पारेको छ ।
एसका स्थायी समिति सदस्य साध्य बहादुर भण्डारी बैठकले सबै खालका विवादहरू हल गरेको बताउँछन् । उनका अनुसार साताव्यापी स्थायी समिति बैठक एसको राजनीतिक इतिहासमा कोशेढुंगा बन्नेछ ।
“प्रत्येक पार्टीभित्र विवाद हुन्छ, मतभेद हुन्छ, कहीँ सैद्धान्तिक विषय हुन्छन् भने कहीँ कार्य विभाजनको विषय हुन्छ, यसलाई स्वाभाविक पनि लिनुपर्छ”, भण्डारी भन्छन्, “पछिल्लो बैठकले यी तमाम विवादलाई सम्बोधन गरेको छ, पार्टीलाई अगाडि बढाउन मार्गदर्शन गरेको छ । यो एसको राजनीति इतिहासका निम्ति कोशेढुंगा बन्नेछ ।”
पार्टी निर्माणकै प्रक्रियामा रहेकाले नेताहरूलाई जिम्मेवारी दिने सन्दर्भमा सहमतिकै बाटो खोजिएको उनले बताए । अहिले प्रतिस्पर्धा गरेर जाने अवस्था नभएको उनको भनाई छ ।
“हामी पार्टी निर्माणकै चरणमा छौँ, यो अवस्थामै प्रतिस्पर्धा सही होइन, यहाँ सबैलाई समेटेर जानु आवश्यक छ, जुन आवश्यकतालाई मनन गरिएको छ”, भण्डारीले भने ।
मुख्य नेतामा चिसाे कायमै
पार्टीभित्रको विवाद तत्काललाई सामसुम भए पनि कार्य विभाजनको विषयले भने एसभित्र अर्को नयाँ विवाद सुरु गराएको छ । विशेषगरी केही विभागको जिम्मेवारी बाँडफाँटलाई लिएर नेताहरू असन्तुष्ट बनेका छन् ।
एक स्थायी समिति सदस्यले बताएअनुसार एसभित्र विशेषगरी संगठन विभाग, स्कुल विभाग र विदेश विभागको विषयमा विवाद थियो । जसमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफू अनुकूल गरेको ती सदस्यले बताए ।
“बैठकले पार्टी महासचिव घनश्याम भुसालको प्रतिवेदन त पास गर्यो तर उनले चाहेको जिम्मेवारी उनी स्वयम् पाएनन्, जसमा अध्यक्ष कमरेड नै हाबी हुनु भयो”, ती सदस्यले भनेका छन्, “कार्य विभाजन करिब–करिब मनमा फेरि चिसो बनाउने गरी भएको छ ।”
महासचिव भुसालले सुरुदेखि संगठन विभाग ताकेका थिए । यद्यपि, पार्टी अध्यक्षको रुचिअनुसार वरिष्ठ नेता डा. बेदुराम भुसालले सो जिम्मेवारी पाए ।
नेतृ रामकुमारी झाँक्री पनि पाएको जिम्मेवारीमा खुसी छैनन् । ती सदस्यले बताएअनुसार विद्यार्थी विभागको जिम्मेवारी उनको चाहना विपरीत नै थोपरिएको छ ।
‘खुट्टा उचाल्नेहरू थचारिए’
अहिलेको स्थायी समिति बैठकले कार्य विभाजन गर्दै गर्दा विशेषगरी खुट्टा उचाल्नेलाई थचार्ने कोणबाट निर्णय लिएको ती स्थायी समिति सदस्य बताउँछन् । उनका अनुसार बैठकमा पार्टी विभाजन गर्दा हुने क्षतिबारे गतिलो समीक्षा भएको छ भने अर्कोतिर जिम्मेवारी दिएर दायाँबायाँ गर्न नमिल्ने परिस्थिति बनाइएको छ ।
“कोही एमाले त कोही माओवादीमा जान खोज्ने थिए, खुलमखुला चुनौती दिएका पनि थिए, एमालेमा जाँदा के हुन्छ भन्ने समीक्षा गतिलो गरी भयो”, ती सदस्यले भने, “एकातिर समीक्षाबाट हच्किने परिस्थिति बन्यो भने अर्कोतिर जिम्मेवारी दिएपछि भाग्ने अवस्था भएन ।”
बैठकले तत्काल कसैसँग पार्टी एकताको सम्भावना नरहेको निष्कर्ष निकाल्दै पार्टी निर्माणमा जुट्नुपर्ने निष्कर्ष लिपिबद्ध गरेको छ । जसले पार्टी विभाजनको पक्षमा उभिनेहरू पनि हच्किने परिस्थिति भएको नेताहरू बताउँछन् ।
“स्थायी समितिको निष्कर्ष एकीकृत समाजवादीलाई सशक्त प्रतिस्पर्धी पार्टी बनाउने भन्ने हो, हालको अवस्था कुनै पनि पार्टीसँग एकताको सम्भावना छैन भन्ने पनि हो”, स्थायी समिति सदस्य भण्डारी भन्छन्, “यसो हुँदा दायाँ बायाँ नलागी पार्टी बनाउनतर्फ लाग्नुपर्छ भन्ने लाइनमा हामी सबै उभिएका छौँ ।”
सम्बन्धित समाचार
महाधिवेशनको साढे पाँच महिनापछि एसमा कार्यविभाजन, कसले के जिम्मेवारी पाए ?