सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ३५.२५ प्रतिशत मात्रै-Sutra News

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ३५.२५ प्रतिशत मात्रै

बुधबार, ३ पौस २०८१

बुधबार, ३ पौस २०८१

रूपन्देही । सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ३५.२५ प्रतिशत र वित्तीय प्रगति भने ३२.२ प्रतिशत पुगेको छ ।



योजनाले सार्वजनिक गरेको मंगलबारसम्मको प्रगति प्रतिवेदन अनुसार तीन वटा बाइपास मध्ये पहिलो र तेस्रो बाइपास (क्रस प्यासेज) ‘ब्रेक थ्रु’ भइसकेका छन् । बाइपास २ को अब ७ मिटर खन्न बाँकी रहेको छ । आयोजनाका अनुसार मुख्य टनेल ९९७ मिटर खनेर सकिएको सिद्धबाबा सुरुङ मार्ग आयोजनाले जनाएको छ । दुर्घटनाको उच्च जोखिमयुक्त पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा सुरुङ मार्ग बनिरहरेको छ ।

यो सुरुङमार्गलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिएर काम सुरु गरेको हो । सिद्धार्थ राजमार्गको चिडियाखोला–दोभान सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना हुने गरेपछि विकल्पका रूपमा सुरुङ निर्माणको योजना अघि बढेको थियो । यस खण्डको चार किलोमिटर क्षेत्रमा अत्यधिक पहिरो खस्ने क्षेत्रभित्र पर्छ ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाखमा सुरुङमार्गको ठेक्का लिएको छ । अहिले दैनिक डेढ सयदेखि दुई सय जना कामदारले काम गरिरहेका आयोजनाले जनाएको छ । सुरुङ खनेर सुरक्षाका लागि गरिने कामका साथै बाटो फराकिलो पार्नेसहित अन्य काम सुरु भइसकेको आयोजनाले जनाएको छ । आयोजनाले भित्र काम भइरहेकाले बाहिरको काम गरेको छैन । सुरुङबाहिरको पहाडमा पहिरो बग्न नदिने गरी काम भइरहेको छ ।

२०७८ सालमै सुरु भएको सिद्धबाबा सुरुङमार्ग आयोजना २२ मार्च २०२७ मा सक्नुपर्ने सम्झौतामा उल्लेख छ । ईपीसी मोडलको ठेक्का भएकाले यसअन्तर्गतका सम्पूर्ण संरचनाको डिजाइन, निर्माण तथा मर्मतको जिम्मा निर्माण व्यवसायीको रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट