काठमाडौं। बझाङमा दुई दिनमा तीन पटक भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो ।
हिजो साँझ ५ बजेर ८ मिनेटमा धमेना केन्द्रमै ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । हिजो नै १ बजेर २ मिनेटमा बझाङकै रायल केन्द्र भएर ३.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
भूकम्पीय क्षतिको दृष्टिले नेपाल उच्च जोखिमयुक्त मानिन्छ । पश्चिम नेपालको भूगर्भमा वर्षौंदेखि ऊर्जा सन्चित भएकाले अझै बढी जोखिम रहेको ठानिन्छ ।
कुनै पनि बेला ठूला धक्का जान सक्ने हुँदा क्षतिबाट जोगिन भूकम्प प्रतिरोधी संरचना बनाउनुपर्ने र उद्धारको तयारीमा जोड दिनुपर्ने विज्ञहरु बताउँछन् ।
यद्यपि पटक-पटक गइरहने साना धक्कालाई सकारात्मक रुपमा लिनुपर्ने उनीहरुको मत छ । यसबाट लामो समय भूगर्भमा सन्चित भएको ऊर्जा बाहिरिने मद्दत मिल्छ ।