

काठमाडौं । सामाजिक सञ्जालमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको एउटा फोटो भाइरल बनिरहेको छ । जुन फोटोलाई लिएर सरकार र नेपाल प्रहरीमािथ प्रश्नहरु उब्जिएका छन् ।
सिसिटिभीबाट खिचिएको उक्त फोटोमा लामिछाने सुतिरहेको देखिन्छ । जहाँ वरिपरि थुप्रै किताबहरु छन् ।
रास्वपाका कोषाध्यक्ष दीपक बोहोराले सो फोटो नियोजितरुपमा खिचिएको भन्दै त्यसको मूल्य महँगो पर्ने चेतावनी दिएका छन् । उनले उक्त फोटो कास्की प्रहरीले नै खिचेको दाबी गरेका छन् ।
“अन्याय गर्नुको पनि हद हुन्छ, रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला”, बोहोराले सामाजिक सञ्जालमा लेखेका छन् ।
फोटो सार्वजनिक भएसँगै रास्वपा समर्थक आक्रोशित बनेका छन् भने रास्वपा इतरका केहीले फोटो फेक भएको बताइरहेका छन् ।
यद्यपि, यतिबेला स्वघोषित सामाजिक अभियन्ता डा. निकोलस भुसालले फोटो आफूले खिचेको दाबी गर्दै फोटोको जिम्मेवारी लिएका छन् । उनले फोटो कुनै कुनियतबाट नखिचेको पनि बताएका छन् ।
भुसालले आफूले लामिछानेको स्वास्थ्य अवस्थाबारे बुझ्न जाँदा फोटो लिएको बताएका छन् । उनले लामिछानेको अवस्था बाहिर चर्चा भएजस्तो अप्ठ्यारो नभएको पनि दाबी गरेका छन् ।
“उहाँको स्वास्थ्य अवस्थाबारे बुझ्न जाँदा मैंले सिसिटिभिबाट फोटो खिचेको थिएँ, मैंले कुनियत राखेर फोटो खिचेको होइन, प्रहरीकै अगाडि मैंले फोटो खिचेको हो”, सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले भनेका छन्, “मैंले लामिछानेको अवस्था के हो भन्ने सबैलाई जानकारी दिन फोटो सेयर गरेको हो ।”
उनले दुई दिनअघि नै सामाजिक सञ्जालमा उक्त फोटो सेयर गरेका थिए । जुन अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो ।
जसबारे अनेकन टिप्पणी आएपछि भने उनले हटाएका छन् ।
फोटो भाइरल भएसँगै कास्की प्रहरीले भने फोटो खिच्नेको खोजी सुरु गरेको छ । कास्की प्रहरीका प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले घटनाबारे अनुसन्धान थालिएको बताएका छन् । “सामाजिक सञ्जालमा आएका तस्बिर हेरेका छौं, कसरी आयो र कसले गर्यो खोजी सुरु गरेका छौं”, सञ्चार माध्यमसँगको कुराकानीमा उनले भनेका छन् ।