काठमाडौं । साताको पाचौं कारोबार दिन (बिहीबार) स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार केही दिनदेखि ओरालोमा लागेको सुनको मूल्य बिहीबार प्रतितोला १७ सय रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै बिहीबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार कायम भएको छ । यसअघि बुधबार सुनको मूल्य १ लाख ५० हजार ७ सय रुपैयाँ थियो ।
सुनको मूल्य केही दिनदेखि नै ओरालोमा थियो । मंसिर २७ मा प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य घटिरहँदा स्थानीय बजारमा चाँदीको मूल्य पनि निरन्तर ओरालोमा छ । बिहीबार एकै दिन चाँदी प्रतितोला ५५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।
मूल्य घटेसँगै स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा पनि निरन्तर मूल्य घट्दो क्रममा छ । यद्यपि, सुनचाँदीको भाउ घटिरहँदा किनबेच भने केही प्रभावित भएको व्यवसायीहरुले बताएका छन् ।